आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • एसएमजी चोरी स्वीकारेका ढकाललाई अदालतबाट सेनाले लग्यो, पीडित परिवार भन्छ- बयानमा हेराफेरी नहोस्

एसएमजी चोरी स्वीकारेका ढकाललाई अदालतबाट सेनाले लग्यो, पीडित परिवार भन्छ- बयानमा हेराफेरी नहोस्

अदालतको आदेशसँगै यो मुद्दा अब सैनिक अदालतले सुनुवाइ गरी फैसला गर्ने भएको छ। गुरुङको हत्या गरेको आरोप लागेका भरतपुर–२१ का गंगाधर ढकाललाई पनि सेनालाई बुझाउने तयारी प्रहरीले गरिरहेको छ।
 |  मंगलबार, भदौ १, २०७८

अनिल यादव

अनिल यादव

मंगलबार, भदौ १, २०७८

काठमाडौं- सैनिक भरत गुरुङको हत्या मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक अदालत पठाउने आदेश गरेको हो।

triton college

अदालतको आदेशसँगै यो मुद्दा अब सैनिक अदालतले सुनुवाइ गरी फैसला गर्ने भएको छ। गुरुङको हत्या गरेका अभियुक्त भरतपुर–२१ का गंगाधर ढकाललाई पनि सेनामा बुझाउने तयारी प्रहरीले गरिरहेको बताएको छ। 

आरोपी ढकालविरुद्ध ज्यानसम्बन्धी मुद्दा, अवैध हतियार रुपमा हातहतियार राखेको तथा चोरी गरेको कसुरमा प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

महेन्द्र दल गण शिवपुरीमा कार्यरत सैनिक गंगाधर ढकालले सेनामै कार्यरत आफ्नै साथी धादिङ नीलकण्ठ-१३ का भरत गुरुङलाई गोली हानेर हत्या गरेका थिए। चितवनको भरतपुर–१७ मानसिंह चोक नजिकै सिमलडाँडा खेतको कुलोमा साउन ७ गते बिहान गुरुङको शव भेटिएका थिए। आरोपी ढकालले आफ्नै साथी गुरुङको हत्या मात्र गरेनन्। गुरूङकै चेकबाट ९ लाख रुपैयाँ पनि झिकेका थिए। 

जग्गा पास गर्न चितवन आउनुपर्ने बताएपछि गुरुङलाई लिन उनी काठमाडौं पुगेका थिए। उनले राति खाजासहित रक्सी खुवाएपछि डुलाएर गोली हानी कुलोमा फालेर भागेका थिए। ढकालले सैनिकको एसएमजी हतियार प्रयोग गरेको तथ्य खुलेको थियो।

corrent noodles
Metro Mart

हत्यामा १००७९२ नम्बरको एसएमजी प्रयोग भएको थियो। उक्त मेसिन गन २ पुस २०७५ मा ब्यारेकबाट चोरी गरेको आरोपमा कोर्ट मार्सलले उदयपुर गाईघाट स्थायी बसोबास भएका र त्यतिबेला कालीबहादुर गणमा कार्यरत सिपाही लव गुरुङ र सुन्दर हरैचा मोरङ घर भएका अर्का सैनिक सरोज तामाङलाई जेल हालेको थियो। 

गुरुङको हत्या गरेका अभियुक्त भरतपुर–२१ का गंगाधर ढकाललाई पनि सेनामा बुझाउने तयारी प्रहरीले गरिरहेको बताएको छ। 

‘गणबाट हराएको भनिएको १००७९२ नम्बरको एसएमजी हालैको एक हत्याकाण्डमा प्रयोग भएको देखियो’, चितवन प्रहरीले नेपाल समयसँगको अनौपचारिक कुराकानीमा बताएको थियो, ‘हत्यामा संलग्न अर्कै व्यक्तिले सो हतियार आफूले दुई वर्षअघि सोही गणबाट चोरेको बताएको छ।’

ब्यारेकबाट हराएको भनिएको सोही हतियार साउन ७ गते चितवनमा भएको हत्याकाण्डमा प्रयोग भएको पाइएपछि पुरानो घटनाको नयाँ पटाक्षेप सतहमा आएको थियो। 

यसअघि नै प्रहरीले सैनिक जवान गंगाधर ढकालले एसएमजीले हानेको चितवन प्रहरीले पत्रकार सम्मेलन गरेर जानकारी दिइसकेको छ। गुरुङको हत्यामा दुई वर्षअघि हराएको एसएमजी ‘गन’ नै प्रयोग भएको प्रहरीको भनाइ छ। ढकालले गन आफूले चोरेको बताएकाले सोही गन चोरीको अभियोगमा जेलभित्र रहेका दुई सैनिकहरु निर्दोष छन् भन्ने देखिएको प्रहरीका एक अधिकारीले बताएका थिए। 

गणका तत्कालीन हाकिमहरुले व्यक्तिगत रिसइबीका कारण हतियार चोरीमा सैनिक गुरुङ र तामाङलाई फसाएको आरोप छ। 

आरोपित सैनिक लव र सरोजको परिवारले पनि त्यतिबेलै आफ्ना परिवारका सदस्यहरुमाथि सैनिक सेवाभित्र षड्यन्त्र भएको बताएका थिए। यो घटनामा व्यक्तिगत रिसिइबी र अरु घटनाहरुको प्रतिशोध गाँसिएको भनाइ उनीहरुको थियो।

भरतको हत्यामा प्रयोग भएको गन गंगाधरले नै चोरी गरेको स्वीकारेपछि दुई सैनिक लव र सरोज निर्दोष भएको परिवारको दाबीमा बल मिलेको थियो।

अब के होला?

अदालतले सैनिक अदालतमा यो मुद्दा पठाएपछि अब के होला भन्ने चासो बढेको छ। जिल्ला अदालतको फैसला अनुसार आफूहरूले सैनिक अदालतमा मुद्दाको फाइल र गंगाधर ढकाललाई बुझाउन लागिएको चितवनका डीएसपी सूर्य थापाले जानकारी दिए।

गंगाधरले नै हतियार चोरी गरेर हत्या गरेको स्वीकारिसकेका अवस्थामा जिल्ला अदालतले किन सैनिक अदालतमा मुद्दा चलाउन आदेश दिएको विषयले शंका गर्ने ठाउँ उब्जिएको छ। सैनिक अदालतमा मुद्दाको फाइल पुगेपछि कतै गंगाधरको बयान नै फेरिएर दुई निर्दोष सैनिकहरूको सजाय यथावत् हुने त होइन भन्ने पनि शंका उब्जिएको छ। 

तर प्रहरी भने मुद्दा सैनिक अदालतमा गएपनि सबै अनुसन्धान आफुहरूले नै गरेकाले बयान फेरिन सक्ने सम्भावना नरहेको दाबी गर्छ। 'हामीले गरेका अनुसन्धानको सबै अनुसन्धानको एक कपी हामीसँग पनि हुन्छ,' डीएसपी थापाले भने, 'मुद्दा सैनिक अदालतमा चलेपनि त्यसमा बयान र गन नम्बर हेरफेर हुने भन्ने हुँदैन।' सेनाको हतियारसँग जोडिएको विषय भएकाले सेनाबाट माग भएकाले पनि कोर्ट मार्सलमा पठाइएको हुन सक्ने उनको आकलन छ। 

चितवन जिल्ला अदालतले भने सैनिक अदालतले माग गरेकाले सैनिक अदालतमा पठाइएको बताएको छ। सेनाले भने पुरानो मुद्दा पनि जोडिएको भन्दै मुद्दा सैनिक अदालतमा पठाउन दबाब दिएको थियो। 

'भरत गुरुङको हत्या आरोपी गंगाधर ढकालले सैनिकको हतियार अवैध रूपमा राखेको थियो। त्यही हतियारले गुरुङको हत्या गरेको पाइयो। सैनिक हतियार अवैध रुपमा राखेको र त्यसले नै अपराध गरेको हुनाले सैनिक अदालतले मुद्दा पठाउन माग गरेकाले मुद्दालाई सैनिक अदालतमा पठाउने आदेश भएको छ,' जिल्ला अदालतका स्रेस्तेदार ईश्वर आचार्यले भने, 'अभियुक्त ढकाल बहालवाला सैनिक भएकाले समेत सैनकि अदालतले माग गरेको थियो।'

एसएमजी चोरी र हत्या स्वीकारेका ढकाललाई सैनिक अदालतमा पठाइएको खबर पाएपछि सैनिक गुरुङ र तामाङका परिवारले सैनिक अदालतबाटै न्याय मिल्ने अपेक्षा व्यक्त गरेका छन्। 'अभियुक्त ढकालसहित मुद्दालाई जिल्ला अदालतबाट सैनिक अदालत पठाइएको थाहा पायौँ। उनले प्रहरी सामु एसएमजी चोरी स्वीकारिसकेका छन्। त्यसैले निर्दोष हाम्रा परिवारका सदस्यलाई न्याय मिल्ला भन्ने लागेको छ,' सैनिक गुरूङकी श्रीमती पर्मिलाले भनिन्, 'सैनिक अदालतमा ढकालको बयानमा हेराफेरी भयो भने निर्दोषमाथि अर्को अन्याय हुनेछ। त्यसैले बयानमा हेराफेरी नहोस्।' 

उता सरोजका परिवारले पनि अभियुक्त ढकालले भरतको हत्या गरेको स्वीकार गरेको त्यसमा प्रयोग भएको हतियार आफैले चोरी गरेको स्वीकारेकाले सैनिक अदालतले आफ्नो परिवारलाई न्याय दिने विश्वास व्यक्त गरेको छ। 'मुद्दा सैनिक अदालतमा पठाइएको थाहा पाएका छौँ,' सरोजकी श्रीमती उर्मिलाले भनिन्, 'अब सैनिक अदालतले न्याय दिने आश लागेको छ। अभियुक्तको बयान नफेरिनेमा विश्वस्त छौँ।'

(घटनामा उत्पन्न विकासक्रमका कारण आज यो सामग्री प्रकाशन गरिएको छ। यसअघिका तेस्रो शृंखलामा भनिएको 'गन' प्रकरणमा कारागारमा रहेका सेनाका अमल्दार लवकुमार गुरुङले पाएको जेलसजाय, उनका भाइ र जेठीसासुसमेतले ११ महिना कारागार बस्नुपरेको र लवकी पत्नीले २५ दिन हिरासतमा रहनुपरेको सम्बन्धी विस्तृत कथा अर्को शृंखलामामा प्रकाशन गर्नेछौँ)

शृंखलाको तेस्रो भाग:

आफू सुत्केरी भएका बेला निर्दोष श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।…

शृंखलाको दोस्रो भाग:

एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो।

शृंखलाको पहिलो भाग:

दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।…

प्रकाशित: Aug 17, 2021| 20:33 मंगलबार, भदौ १, २०७८
प्रतिक्रिया दिनुहोस्