शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

बाढी–पहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

 |  शुक्रबार, भदौ २६, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २६, २०८३

काठमाडौं। बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। पछिल्लो विवरणअनुसार मुख्य सडक खण्डहरूमा यातायात आवागमन प्रभावित बनेको छ।

बागमती प्रदेशअन्तर्गत काभ्रेस्थित वि.पि. राजमार्गमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारी सञ्चालनमा रोक लगाइएको छ। अन्य समयमा भने बिहान ४ देखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरी मात्र सवारी सञ्चालन गर्न दिइएको छ। 

रसुवाको त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्डअन्तर्गत आएको बाढीले सडक लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध बनाएको छ। त्यस्तै, रसुवाका अन्य मुख्य राजमार्गहरू पनि अर्को सूचना नआएसम्मका लागि पूर्ण बन्द छन्। 

नुवाकोटस्थित टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी र पहिरोको जोखिमका कारण राति १० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पासाङ ल्हामु सडक खण्डको बेत्रावती–१० सिमटारमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ।

पृथ्वी राजमार्गका विभिन्न खण्डमा पनि पहिरोले क्षति पुर्‍याएको छ। धादिङको बेनीघाट रोराङ–७ कृष्ण भिर र थाक्रे गाउँपालिका–२ कमेरेभिरमा ठूलो पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको छ। यद्यपि, धादिङ र चितवन सीमास्थित जबाङखोला तथा थाक्रे–२ बाह्रकिलो खण्डमा भने पहिरो पन्छाएर सवारी एकतर्फी सुचारु गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प बनेको छ।

उता कर्णाली प्रदेशअन्तर्गत मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो खस्दा मुगु–गमगढी सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।

सडक विभाग र सुरक्षाकर्मीको टोलीले पहिरो पन्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। सम्बन्धित निकायले यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित: Sep 11, 2026| 07:49 शुक्रबार, भदौ २६, २०८३
प्रतिक्रिया दिनुहोस्