काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेन्जी आन्दोलनले परम्परागत राजनीतिक शैलीप्रति स्पष्ट अस्वीकार व्यक्त गरेको बताएका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध सचेत युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको बताएका छन् ।
उनले आन्दोलनका क्रममा भाद्र २३ र २४ गते भएको घटनालाई दुःखद् भन्दै त्यस क्रममा ज्यान गुमाएका आन्दोलनकारी र कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। परिवर्तनका लागि अब कुनै पनि आमाको काख रित्तिन नपरोस् भन्ने कामना पनि उनले गरेका छन्।
आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका र मानसिक तथा शारीरिक चोट भोगेकाहरूको उचित उपचार, परिवारको हेरचाह र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्ने उनले बताए।
लामिछानेले जेन्जी आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त रूपमा भएको दाबी गर्दै कुनै पनि दल वा नेताले त्यसलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने बताए।
उनका अनुसार आन्दोलनले डिजिटल युगमा हुर्किएको युवा पुस्ता स्वाभिमानी रहेको र आफ्नै देशभित्र भविष्य खोजिरहेको स्पष्ट सन्देश दिएको थियो। उनले युवा पुस्ताले अब कुशासन स्वीकार नगर्ने पनि उल्लेख गरेका छन्।
लामिछानेले युवा, नागरिक समाज र आम नागरिकलाई रचनात्मक खबरदारी तथा आफ्नो दलको कामको निर्मम समीक्षा निरन्तर गर्न आग्रह गरे। तर, नागरिकमा निराशाको भावना फैलिन दिन नहुने भन्दै नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
उनले जेन्जी आन्दोलनले देखाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट राष्ट्रिय स्वतन्त्र पार्टी एक इन्च पनि विचलित नहुने दृढता व्यक्त गरेका छन्।