मंगलबार, भदौ २३, २०८३

१६२ किलो गाँजासहित दुई चालक पक्राउ

 |  मंगलबार, भदौ २३, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०८३

मकवानपुर- मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध गाँजासहित दुई जना चालकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले भाबरस्थित भित्री सडकखण्डमा राति करिब २ः४५ बजे सवारीसाधन जाँच गर्ने क्रममा गाँजा बरामद गरेको थियो।

भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअपलाई प्रहरीले जाँचका लागि रोक्न खोजेको थियो। त्यस क्रममा पिकअप चालकले सवारीसाधन भगाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि कारको सिटमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको १३ वटा पोकाबाट १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देवनारायण महतो र भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङ रहेका छन्। महतो कार चालक र दोङ पिकअप चालक रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पिकअप चालक दोङले अगाडि रहेको कारलाई सुरक्षा दिँदै पछाडिबाट सवारीसाधन लिएर गएको खुलेको प्रहरीले जनाएको छ।

गाँजा, दुवै चालक र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 08, 2026| 09:43 मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्