काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाको लागि एम.भी. दुगड ग्रुपले एक करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
घटनाको तेह्रौँ दिन सोमबार राष्ट्रिय शोक दिवसको सन्दर्भमा एमभी दुगडले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सो रकम हस्तान्तरण गरेको हो। एम.भी.दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड तथा सञ्चालक शुभम दुगडले संयुक्तरुपमा अर्थमन्त्रीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।
एम.भी. दुगड ग्रुप र अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोग समेत गरी कूल १ करोड ११ लाख बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको ग्रुपका अध्यक्ष मोतीलाल दुगडले बताए।
यस विनाशकारी विपद्मा जलवायु परिवर्तन तथा ग्लोबल वार्मिंग मुख्य कारक रहेको प्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष दुगडले ग्रुपमार्फत विगत पाँच वर्षदेखि देशव्यापी रूपमा वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताए।
हालसम्म वन क्षेत्रमा ३ लाखभन्दा बढी बोटबिरुवा तथा ६ किलोमिटरभन्दा लामो राजमार्ग खण्ड, विभिन्न विद्यालय, प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालय परिसरमा २५ हजारभन्दा बढी उन्नत जातका फलफूलसहितका बिरुवा रोपी संरक्षण गर्ने कार्य भएको उनले बताए। ग्लोबल वार्मिंगको असर कम गराउने यस कार्यमा ग्रुप र ग्रुपका कर्मचारीहरू निरन्तर लागिपर्ने उनले प्रतिबद्धता पनि प्रकट गरेका छन्।
ग्रुपको तर्फबाट दिइएको चेक बुझ्दै अर्थमन्त्री वाग्लेले विपद्मा निजी क्षेत्रको साथ र सहयोगले सरकारलाई थप बल मिलेको बताए। उनले विपद् व्यवस्थापनमा सरकारले कुनै कसर बाकी नराखेको समेत बताए।
भोटेकोशी बाढीमा परेका नागरिकको उद्धार, राहत तथा पुनर्निर्माणका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ। दुगड समूहले गरेको यो रकम नेपालका निजी क्षेत्रबाट गरिएको ठुलो रकम हो। एमभी दुगड समूह नेपालको निजी क्षेत्रको ठुलो ऊर्जा उत्पादक हो। समूहले यसपछि बाढीग्रस्त क्षेत्रमा खटेका सुरक्षाकर्मी मार्फत राहत वितरणमा लाग्ने पनि जानकारी दिएको छ।