सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढी : १ हजार ३५६ शव फेला, सम्पर्कविहीन करिब ४ हजार ९९४

भोटेकोशी बाढी : १ हजार ३५६ शव फेला, सम्पर्कविहीन करिब ४ हजार ९९४

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं। भोटेकोशी बाढी तथा विपद्बाट हालसम्म १ हजार ३ सय ५६ जनाको मानवीय क्षति भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ।

प्राधिकरणले सोमबार साँझ ६ बजे सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १६९, नुवाकोटमा १९७, तनहुँमा ३८, धादिङमा ७०, गोरखामा ७५, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२१ शव फेला परेका छन्। फेला परेका शवमा विभिन्न मानव अंगसमेत समावेश छन्।

सनाखत हुन नसकेका शवको पहिचानका लागि डीएनए परीक्षणको व्यवस्था गरिएको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुईवटा फोटो र नाता प्रमाणित कागजातसहित नमुना दिन सकिने प्राधिकरणले जनाएको छ।

बाढी तथा विपद्बाट घाइते भएका हालसम्म ६ हजार ६ सय ७६ जनाको उपचार गरिएको छ। विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार गरिएकोमा २४२ जना डिस्चार्ज भइसकेका छन्।

त्यस्तै, नेपाली सेनाबाट ३ हजार ३७९ जना र सशस्त्र प्रहरी बल, नेपालबाट २ हजार ९७० जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ।

हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। खोज, उद्धार तथा राहत कार्यका लागि हालसम्म २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार २८७ र सशस्त्र प्रहरी बल, नेपालका ४ हजार २०३ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका छन्।

बाढीपछि हालसम्म करिब ४ हजार ९९४ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।


 

प्रकाशित: Sep 07, 2026| 18:29 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्