रामेछाप। वृद्ध दम्पतीलाई घरमै बन्धक बनाएर गरगहना तथा नगद लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
भदौ १८ गते राति खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलका ८५ वर्षीय बखतमान लामा र ८६ वर्षीया कान्छी माया तामाङलाई नकाबधारी समूहले हात बाँधेर, मुख थुनी तथा आँखामा पट्टी लगाएर नियन्त्रणमा लिई घरमा रहेको नगद तथा गरगहना लुटेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले भदौ २० गते भक्तपुरका विभिन्न स्थानबाट सिन्धुलीका २५ वर्षीय सुमन जर्घा मगर, रामेछापका ३२ वर्षीय दीर्घराज मोक्तान, ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाका ४४ वर्षीय पिताम्बर गहतराज र धनकुटाका ३८ वर्षीय दीपक भन्ने गुणराज विश्वकर्मालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट नगद, मोबाइल, मोटरसाइकल, गरगहना तथा अन्य सामान बरामद गरेको जनाएको छ। अनुसन्धानका क्रममा पक्राउ परेकाहरू अन्य चोरीका घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ।