नुवाकोट- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई बेलकोटगढी नगरपालिकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
नगरपालिकाले बाढीका कारण घर पूर्ण रूपमा क्षति भई बस्न योग्य नभएका, परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका नगरवासी परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने जनाएको छ। प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री तथा अस्थायी आवास केन्द्रको व्यवस्था पनि भइरहेको नगरपालिकाले जनाएको छ।
त्यस्तै, बाढीका कारण खेतीयोग्य जमिन बगेर वा पुरिएर गुमाएका पीडित किसान परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
बाढीबाट घर पूर्ण रूपमा क्षति भएका तर नयाँ घर निर्माणका लागि अन्यत्र जग्गा नभएका अति विपन्न तथा विस्थापित परिवारको पहिचान गरी पुनःस्थापना तथा पुनर्वासको प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।
बाढीबाट घर पूर्ण रूपमा क्षति भएका, परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका परिवारको वास्तविक तथ्यांक सम्बन्धित वडाका अध्यक्ष र वडा सचिवमार्फत तीन दिनभित्र अनिवार्य रूपमा प्रमाणित गरी नगरपालिकामा उपलब्ध गराउन पनि भनिएको छ।
यसैबीच, अस्थायी आवास केन्द्रसमेत स्थानान्तरण गर्ने निर्णय गरिएको छ। वडा नम्बर ७ स्थित शिलादेवी माध्यमिक विद्यालयमा रहेको अस्थायी आवास केन्द्र रातमाटे चर्चमा र वडा नम्बर ७ कै महादेव माध्यमिक विद्यालयमा रहेको अस्थायी आवास केन्द्र सोही विद्यालयको छात्रावासमा सारिने नगरपालिकाले जनाएको छ।