सोमबार, भदौ २२, २०८३

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

 |  सोमबार, भदौ २२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०८३

काठमाडौं- भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी क्षेत्रमा विद्युत् पुर्याउनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ।

यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोलालगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धारकार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

चिलिमे आयोजनामा ‘मड पम्प’, जेनेरेटर र वाटर पम्प हेलिकप्टरमार्फत  पुर्याइएको छ। रसुवागढी आयोजनामा उद्धार टोली विद्युत्गृह तथा आसपासको क्षेत्रसम्म पुगेको छ। लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो तथा ठूला चट्टान हटाउने काम भइरहेको छ। त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’मा मिनी एक्स्काभेटर तथा बक्याट प्रयोग गरी भग्नावशेष हटाउने कार्य जारी छ।

मन्त्रालयका अनुसार मैलुङ खोला आयोजनामा नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले स्थलगत रेकी गरेको छ। बाढी प्रभावित आयोजनाका सुरुङबाट उद्धार गरिएका प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत १३ वटा कार्यालय प्रयोजनका र ५०० वटा घरायसी प्रयोजनका सौर्य विद्युत् प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ। रसुवामा विद्युत् सेवा सञ्चालन हुन समय लाग्ने स्थानका थप एक हजार २६८ घर पहिचान गरी सौर्य प्रणाली वितरणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 07, 2026| 09:08 सोमबार, भदौ २२, २०८३
प्रतिक्रिया दिनुहोस्