आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रसुवा–भोटेकोशी बाढीपछि खोज तथा उद्धार जारी, १ हजार ३४२ शव फेला

रसुवा–भोटेकोशी बाढीपछि खोज तथा उद्धार जारी, १ हजार ३४२ शव फेला

 |  आइतबार, भदौ २१, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०८३

काठमाडौं। रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि १२औँ दिनसम्म पनि खोज, उद्धार तथा राहत कार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, प्राविधिक टोली तथा विदेशी विज्ञहरू खोज तथा उद्धार कार्यमा परिचालित छन्। विभिन्न जलविद्युत आयोजनाका सुरुङमा समेत खोजी कार्यलाई निरन्तरता दिइएको छ।

त्रिशूली–३ ‘ए’ को सुरुङमा १६० मिटर, त्रिशूली–३ ‘बी’ मा हेलिकोप्टरमार्फत एक्साभेटर पु¥याएर ३० मिटर, रसुवागढीमा २७५ मिटर, लाङटाङमा १५० मिटर र चिलिमेमा १७० मिटरसम्म खोजी गरिएको प्राधिकरणले जनाएको छ। अपर त्रिशूली–१ मा टनेल हेडदेखि टेलसम्म खोजी कार्य जारी छ।

अपर त्रिशूली–१ को अडिट–३ बाट इन्फ्रारेड (आईआर) तथा थर्मल ड्रोनमार्फत गरिएको खोजीमा जीवित व्यक्तिको संकेत नदेखिएपछि चिनियाँ टोली फर्किएको प्राधिकरणले जनाएको छ।

खोज तथा उद्धारका लागि नेपाली सेनाका ग्राउन्ड फोर्स र पेट्रोल टोली विभिन्न स्थानमा परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरसहितका केनाइन टोली पनि खोजीमा खटिएका छन्। नेपाल प्रहरीले ड्रोनमार्फत बाढी प्रभावित खोला किनारको अवस्था अवलोकन, निरीक्षण तथा विवरण संकलन गरिरहेको छ।

विदेशी पर्यटकको उद्धार तथा उनीहरूका बेपत्ता आफन्तको खोजी र सहजीकरणका लागि पर्यटक प्रहरीसमेत परिचालन गरिएको छ।

प्रभावित क्षेत्रमा यातायात सहज बनाउन विभिन्न स्थानमा सडक मर्मत तथा सफाइको काम भइरहेको छ। देवीघाटको तादी खोलामा अस्थायी पुल जडानको काम जारी छ भने गल्छी–देवीघाट सडकखण्डको ठूली खोला नजिक सडकमा जम्मा भएको लेदो हटाउने काम भइरहेको छ।

देवीघाट–ढुङ्गे सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। ढुङ्गे–त्रिशूली खण्डमा मर्मत तथा सफाइको काम भइरहेको छ। विदुर–बेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ८ किलोमिटर सडक सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ।

बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। तीमध्ये ९८ शवको सनाखत गरी परिवारलाई बुझाइएको छ।

शव पहिचानमा सहजता ल्याउन सबै शवको डीएनए नमुना संकलन भइरहेको छ। साथै सम्पर्कविहीन व्यक्तिका नजिकका परिवारका सदस्यलाई पनि डीएनए नमुना उपलब्ध गराउन आग्रह गरिएको छ। सम्बन्धित जिल्ला प्रहरी कार्यालयमार्फत परिवारका सदस्यको डीएनए नमुना संकलनको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

प्रभावित क्षेत्रमा अत्यावश्यक सेवा पुनः सञ्चालन गरी जनजीवन सामान्य बनाउने प्रयास भइरहेको छ। प्राधिकरणका अनुसार प्रभावित क्षेत्रको सञ्चार सेवा लगभग सुचारु भइसकेको छ भने विद्युत् सेवा पनि धेरै स्थानमा पुनः सञ्चालनमा आएको छ। 

खोज, उद्धार तथा राहत कार्यको अवस्थाबारे समीक्षा गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३६औँ बैठकसमेत बसेको छ।

त्यसैगरी विषयगत सरकारी निकायका क्लस्टर लिड तथा रसुवा बाढीपछिको खोज, उद्धार र राहत समन्वयका लागि गठित परिचालित टोलीबीच संयुक्त बैठक पनि सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउन छिट्टै सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दै थप जानकारीका लागि नियमित रूपमा जारी गरिने बुलेटिन तथा स्थिति प्रतिवेदन हेर्न आग्रह गरेको छ।

प्रकाशित: Sep 06, 2026| 20:54 आइतबार, भदौ २१, २०८३
प्रतिक्रिया दिनुहोस्