धादिङ- पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ छहरामा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ। यसैबीच भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त गजुरी-२ स्थित परेवाभिरमा सडक मर्मतका लागि आज पनि पृथ्वी राजमार्ग १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गएको छ। यसअघि शनिबार पनि परेवाभिर मर्मतका लागि सडक बन्द गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म परेवाभिर हुँदै अत्यावश्यकबाहेकका सबै सवारीसाधन सञ्चालनमा रोक लगाइने बताएको छ। उक्त अवधिमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सवारीसाधनलाई परेवाभिर हुँदै आवतजावत गर्न दिइने छैन।