शनिबार, भदौ २०, २०८३

पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ

 |  शनिबार, भदौ २०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०८३

पर्सा- पर्साको पकहामैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।

शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहामैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारी साधन चेकजाँच गरेको थियो।

प्रहरीका अनुसार तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई रोकेर जाँच गर्ने क्रममा कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए।

ती पोकाहरू खोलेर जाँच गर्दा प्लाष्टिकसहित कुल ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

गाँजासहित प्रहरीले उक्त कार नियन्त्रणमा लिई धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको छ।

बरामद लागुऔषध, कार र पक्राउ परेका चेपाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 05, 2026| 09:56 शनिबार, भदौ २०, २०८३
प्रतिक्रिया दिनुहोस्