काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार बिहान ५ बजे सम्म १ हजार ३४४ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
जसमध्ये रसुवामा १६० जना, नुवाकोटमा १९२ जना, धादिङमा ६७ जना, चितवनमा ३६० जना, गोरखामा ७३ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २२२ जना र नवलपरासी पश्चिम २३० जना गरी १ हजार ३४२ जनाको शव फेला परेको हो।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म २२२ महिला, ३५५ पुरूष र ४५३ नखुलेको गरी जम्मा १ हजार ३० वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ। शव पहिचानका लागि मृतकका १ हजार २६० र आफन्तका ९७२ गरी कुल २ हजार २३२ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। साथै पहिचान नभएको १ हजार २७० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९१२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका ४ हजार ८९८ जनाको खोजी कार्य भइरहेको छ। यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ६५५ जना व्यक्तिहरूलाई राखिएको छ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको प्रहरीले जनाएको छ।