काठमाडौं । रोटरी क्लब अफ पाटन साउथले ३०औं वार्षिकोत्सव मनाउन आयोजित कार्यक्रममा रसुवा बाढीले गराएको जनधनको क्षति भएको अवस्थामा उद्धार र पुनस्थापनालाई जोड दिन रोटरी सदस्यले व्यक्तिगत तथा संस्थागत सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा हालै त्रिशूली पुगेर आएका डिस्ट्रीक्ट गभर्नर विष्णुबहादुर कार्कीले रसुवा बाढीले अनपेक्षित र अकल्पनीय क्षति गराएको सन्दर्भमा अब पुनस्थापना र उद्धारमा हरेक रोटरियन आफ्नो तह र क्षेत्रबाट संलग्न हुनुपर्ने बताए। उनले रोटरीको तर्फबाट तत्कालको राहतबाहेक बालबालिका र अन्य सहयोगापेक्षी समुदायलाई दीर्घकालीन रुपमा कसरी सहयोग गर्न सकिन्छ भनेर सम्बन्धित सरकारवाला निकायहरुसँग सहकार्यका लागि संवाद भइरहेको जनाए।
कार्यक्रममा पाटन साउथका प्रसिडेन्ट अजयकुमार कार्कीले भूकम्प लगायतको विगतका विपत्मा पनि रोटरीको तर्फबाट उल्लेख्य सहयोग भएको स्मरण गराउँदै विगतका अनुभवको आधारमा हालको दैवी विपत्ति पछिको पुनस्थापनाको काममा रोटरीले सम्बन्धित सबै सरोकारवालाहरुसँग हातेमाले गर्ने जनाए।
रोटरी क्लब अफ पाटन साउथका पूर्व प्रेसिडेन्ट गोपालबाबु श्रेष्ठले भने, ‘पीडितहरूमध्ये ज्यान गुमाउनुपर्नेले गुमाइसक्नुभएको छ। अब बाँचेका परिवारलाई पुनस्र्थापना गर्न र तत्काल उद्धार तथा राहतका लागि सहयोग गर्न सकिन्छ भन्ने हाम्रो छलफल भयो। त्यसैले हामीले संकलन गरेको रकम त्यही काममा खर्च गर्ने निर्णय गरेका छौं। पहिलो दिन नै हामीले आफ्नै पहलमा करिब दुई लाख रुपैयाँ उठायौँ। त्यसमध्ये एक लाख रुपैयाँ रोटरी डिस्ट्रिक्ट ३२९२ मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी प्रदान गरिसकेका छौँ। मलेसियाको एउटा रोटरी क्लबले पनि एक लाख ५० हजार रुपैयाँ हामीलाई पठाइसकेको छ।’
श्रेष्ठले रोटरीले निश्चित क्षेत्रमा निश्चित काम गर्ने योजना बनाएर अघि बढेको त्यसबाहेक डिस्ट्रिक्टको तर्फबाट पनि प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने र पीडितहरूको पुनस्र्थापना पूरा नभएसम्म, त्यसका लागि जति वर्ष लागे पनि, सहयोगलाई निरन्तरता दिने र यसलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय भएको जनाए।
कार्यक्रममा पूर्व प्रेसिडन्टहरू शिवबहादुर नेपाली प्रधान, गजेन्द्र बोहरा, विनय वज्राचार्य र डा. शंकरप्रसाद सुरीलाई क्लबप्रतिको प्रतिबद्धता र योगदानका लागि सम्मान गरिएको थियो। क्लबमा शैक्षिक अक्षय कोष स्थापना तथा बैठकमा उच्च उपस्थित भएबापत रोटरियन शिवबहादुर नेपाली प्रधानलाई डिस्ट्रिक्ट गभर्नरद्वारा सम्मान पत्र प्रदान गरिएको थियो।