शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’

त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार कार्य कठिन बनेको छ। शुक्रबार दुईजनाको जीवितै उद्धार गरिएपनि थप उद्धारका लागि अवस्था असहज बनेको हो।

उद्धारमा सक्रिय बिनोद श्रेष्ठका अनुसार सुरुङ भित्रको स्थिति एकदमै कठिन बनेको छ, बगेर आएका मुढाहरू, ठूला–ठूला बोल्डरहरू साथै आरसीसी स्ट्रक्चरहरू तलसम्म भासिएकाले भित्रसम्म खोज तथा उद्धार गर्न कठिन बनेको छ।

‘भित्रसम्म जाने बाटाहरु बन्द जस्तै छन्। प्रारम्भिक चरणमा जुन किसिमको सहजता थियो, अहिले कठिन बनेको छ। हामीले फोटो र भिडियो लिएर पनि हेर्यौं। सबै सुरक्षा निकायका जिम्मेवार व्यक्तिहरुबाट भेरिफिकेसन गर्यौं। तर अवस्था कठिन बन्दै गएको छ,’ श्रेष्ठले अगाडि भने,‘रेस्क्यू जारी राख्छौं। सकेसम्म प्रयास गरिरहेका छौं।’

उद्धारमा सक्रिय संजोग केसीका अनुसार सुरुङ भित्रको अवस्था जटिल र जलमग्न रहेको छ। ‘अन्डरग्राउन्ड पानी र लेदोले भरिएको छ। टनेलको छततर्फको भागमा साथीहरु हुनुभएको भए बाँच्ने अवसर हुनेथियो। नत्र भने अब धेरै आश छैन। जिउँदो होलान भन्नेमा हामी आशावादी छैनौं। मृत्यु नै भएको भए कहाँ दबिएको छ भन्ने यकिन छैन्। सोचेको भन्दा धेरै लेदो छ,’ केसीले भने,‘हामी धेरै आशावादी छैनौं।’

शुक्रबार बिहानदेखि सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली सेनाका ७५ जना, सशस्त्र प्रहरी बल, नेपालका १८ जना तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको थियो।

उद्धार टोलीले सुरुङभित्रबाट दुई जनालाई जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत श्री वीरेन्द्र अस्पताल, छाउनी ल्याएको थियो। उनीहरूको उपचार भइरहेको छ।

खोज तथा उद्धारका क्रममा सुरुङबाट एक शवसमेत निकालिएको थियो। थप व्यक्तिको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिए पनि हाल उद्धार गर्न कठिन भएपछि शुक्रबारलाई स्थगित गरिएको छ। 

प्रकाशित: Sep 04, 2026| 21:41 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्