काठमाडौं। चीनको तिब्बत स्वायत्त क्षेत्रले बाढी तथा पहिरो प्रभावित नेपालका लागि बेलिब्रिजसहितका आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। शुक्रबार सिगात्सेस्थित रिझी नाकामा उक्त सामग्री नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
हस्तान्तरणस्थलमा चिनियाँ र नेपाली भाषामा ‘साझा हिमाल, साझा नदी-दुःखसुखमा एकताबद्ध : तिब्बत नेपालको सहयोगमा’ भन्ने सन्देश राखिएको थियो। विपद्का समयमा दुई देशका नागरिकबीच रहेको सहयोग र ऐक्यबद्धताको प्रतीकका रूपमा उक्त सन्देश प्रस्तुत गरिएको थियो।
उपलब्ध गराइएको सहयोगमा बेलिब्रिजका प्यानल, मजबुत झुन्ड्याउने डन्डी, आधार संरचना, पुलका सतह तथा फलामे डन्डीलगायत सामग्री रहेका छन्। यी सामग्रीबाट दुई वटा बेलिब्रिज निर्माण गर्न सकिने र नेपालका पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क पुनःस्थापना तथा उद्धार र राहत कार्यमा प्रयोग गरिने जनाइएको छ।
ल्हासामा तिब्बत स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालय र ल्हासास्थित नेपाली महावाणिज्य दूतावासबीच हस्तान्तरण कार्यक्रमसमेत भएको थियो। नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले नेपाली पक्षका तर्फबाट हस्तान्तरणसम्बन्धी प्रमाणपत्रमा हस्ताक्षर गरेका थिए।
नेपालले विपद्पछि चीनले देखाएको शीघ्र सहयोगप्रति आभार व्यक्त गर्दै तिब्बत स्वायत्त क्षेत्रको समयमै प्राप्त सहयोगले दुई पक्षबीचको गहिरो मित्रता झल्काएको बताएको छ। साझा हिमाल र नदीले जोडिएका दुई पक्ष कठिन समयमा एकअर्कालाई सहयोग गर्ने सम्बन्धलाई यस सहयोगले थप बलियो बनाएको जनाइएको छ।