काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट उद्धार गरिएका तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थाबारे जानकारी लिएका छन्।
शुक्रबार दिउँसो अस्पताल पुगेका मन्त्री तिमिल्सिनाले उपचाररत घाइते तथा प्रभावितसँग प्रत्यक्ष भेट गरी स्वास्थ्य अवस्था, उपचारका क्रममा देखिएका समस्या तथा अस्पतालबाट प्राप्त स्वास्थ्य सेवाबारे जानकारी लिएका थिए। उनले अस्पतालको उपचार व्यवस्था र समग्र व्यवस्थापनबारे पनि अधिकारीसँग जानकारी लिएका थिए।
अस्पतालका अनुसार भोटेकोशी बाढीबाट उद्धार गरी उपचारका लागि ल्याइएका ७८ जनामध्ये शुक्रबार बिहानसम्म २९ जना उपचाररत छन्। स्वास्थ्यमा सुधार आएका अन्यलाई उपचारपछि अस्पतालबाट घर पठाइएको थियो।
अस्पतालका अधिकारीहरूले बाढीपीडितको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत व्यक्तिहरूले सहज रूपमा स्वास्थ्य सेवा पाइरहेको जानकारी मन्त्री तिमिल्सिनालाई दिएका थिए।
मन्त्री तिमिल्सिनाले विपद्का समयमा घाइते तथा प्रभावित नागरिकको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र व्यवस्थापन गर्न आग्रह गरेका थिए। थप उपचार, स्वास्थ्य सामग्री वा अन्य सहयोग आवश्यक परे सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।