काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत काम गरेको भन्दै केही निर्वाचित जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई स्पष्टीकरणसहित अनुशासनसम्बन्धी कारबाही गर्ने निर्णय गरेको छ।
पार्टीको भदौ १६, १७ र १८ गते ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत काम गरेको भन्दै निर्वाचित जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई स्पष्टीकरणसहित अनुशासनसम्बन्धी कारबाही गर्ने निर्णय गरेको हो।
जसअनुसार लुम्बिनी प्रदेश सरकारको पक्षमा पार्टी निर्णयविपरीत मतदान गरी सरकारमा सहभागी भएका प्रदेशसभा सदस्यहरूमाथि पनि कारबाही गर्ने जनाइएको छ।
त्यस्तै, बैठकले विभिन्न स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेता–कार्यकर्तालाई पनि अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ।
जसपा नेपालले लुम्बिनी प्रदेशमा पार्टीको निर्णयविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा सहभागी भएका रुपन्देही–३(१) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फकी प्रदेशसभा सदस्य हेमा बेल्वासे, बाँके–२(१) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिर र बाँके–२(२) का प्रदेशसभा सदस्य आदेशकुमार अग्रवालमाथि कारबाही गर्ने निर्णय गरिएको छ। उनीहरूलाई पार्टी अनुशासनसम्बन्धी कारबाही गर्दै साधारण सदस्यबाट समेत निष्कासन गर्ने निर्णय भएको छ।
त्यसैगरी, सिरहा जिल्लाको लहान उपमहानगरपालिकाका उपप्रमुख राम चलितर महतो, सुखीपुर गाउँपालिका–४ का रमेशकुमार यादव, धनगढीमाई नगरपालिका–७ का विजयकुमार महतो, कर्जन्हा नगरपालिका–६ का प्रकाशमान श्रेष्ठ, कर्जन्हा–८ का शम्भुकुमार व्याह, कर्जन्हा–९ का वडाध्यक्ष मो. मुस्तकिम, कर्जन्हा–११ का किस्मत राई, धिरम नगरपालिका–८ का कार्यपालिका सदस्य वीरेन्द्रकुमार दनाल, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३ का वडाध्यक्ष बालकृष्ण राई र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्रबहादुर राईमाथि पनि कारबाही गर्ने निर्णय गरिएको छ।
त्यस्तै, इलामको माम्सेबुङ गाउँपालिकाका उपप्रमुख विनोद नेम्बाङ, सन्दकपुर गाउँपालिका–७ का वडाध्यक्ष ज्ञानेन्द्र गुरुङ तथा सुनसरीको कोशी गाउँपालिका–६ का वडाध्यक्ष जुडीलाल कटुवाललाई समेत पार्टी विधानबमोजिम अनुशासनसम्बन्धी कारबाही गरी पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय भएको छ।