काठमाडौं- कृष्णभीरमा आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाइएको छ।
नेपाल एलपी ग्यास उद्योग संघको निर्णयअनुसार अब काठमाडौँ उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ। यसअघि नेपाल आयल निगमले तोकेको मूल्य २ हजार ६० रुपैयाँ थियो।
भदौ १४ गते त्रिशूली नदीमा आएको भीषण बाढीले कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्गको सडक कटान गरेपछि काठमाडौँ उपत्यकामा ग्यास ल्याउन कठिनाइ भएको संघले जनाएको छ। त्यसपछि मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका उद्योगमा ग्यासका सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउनुपर्ने अवस्था आएको हो। वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी दूरी र लागत बढेकाले प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा अतिरिक्त ढुवानी खर्च थपिएको र त्यसमा लाग्ने करसहित १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको संघले जनाएको छ।
संघले काठमाडौँ उपत्यकामा ग्यास बिक्री गर्ने उद्योगलाई प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी मूल्य नलिन आग्रह गरेको छ।
हाल काठमाडौँ बाहिरका ग्यास उद्योगमा नै ग्यास सिलिन्डर भएर काठमाडौँ ढुवानी गर्दा सो बापतको खर्च भने उपभोक्ताबाट असुल गर्ने निर्णय गरिएको छ भने सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिइएको छैन। काठमाडौँ उपत्यकामा गत असारदेखि नै ग्यासको अभाव कायमै रहेका बेला फेरी मुल्य बढाएर उपभोक्तालाई दोहोरो मारमा पारेको भन्दै आपत्ति जनाइएको छ।
राष्ट्रिय उपभोक्ता मन्चले ग्यासमा बढाइएको मुल्य तत्काल खारेज गर्न माग गरेको छ। मन्चले विपदको मौका छोपेर उपभोक्तालाई थप भार पारिएको भन्दै तत्काल मुल्य फिर्ता लिन माग गरेको हो।