शुक्रबार, भदौ १९, २०८३

बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालले बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

संगठनका अनुसार राष्ट्रसेवकका तर्फबाट १५ लाख, राहतसम्बन्धी कार्यविधिअनुसार ५ लाख र सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोषको मापदण्डअनुसार थप ५ लाख गरी कुल २५ लाख रुपैयाँ उपलब्ध गराइनेछ।

त्यस्तै, मृतक कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गर्ने तथा उनका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ विद्यालयमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णय गरिएको छ।

बाढीका कारण मृतक सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका अन्य सदस्यको समेत मृत्यु भएको भए प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय पनि गरिएको छ।

मृतक कर्मचारीका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गरिनेछ। त्यस्तै, सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ राहत दिइने भएको छ। बाढीबाट प्रभावित अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख तथा आंशिक भौतिक क्षति वा घाइते भएका कर्मचारीलाई ५० हजार रुपैयाँसम्म तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संगठनका तर्फबाट १५ करोड ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ। कर्मचारीको तलबबाट समेत निश्चित रकम कट्टा गरी राहत कोषमा जम्मा गरिनेछ।

जसअनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिनको, जुनियर अधिकृतले ७ दिनको, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिनको तथा सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन्।

तर, सीमा सुरक्षा चौकी टिमुरे र सुरक्षा आधार मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीको हकमा भने तलब कट्टा नगरिने भएको छ।

प्रकाशित: Sep 04, 2026| 12:49 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्