शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • उद्धार गरिएकामध्ये महर्जनको अवस्था जटिल, साहको अवस्था सामान्य

उद्धार गरिएकामध्ये महर्जनको अवस्था जटिल, साहको अवस्था सामान्य

 |  शुक्रबार, भदौ १९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०८३

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जना कर्मचारीको शुक्रबार बिहान जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये एक जनाको अवस्था सामान्य र अर्का एक जनाको स्वास्थ्य अवस्था जटिल रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। 

जटिल अवस्थामा रहेका आयोजनाका मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौं ल्याई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरेर उपचार सुरु गरिएको छ। 

महर्जनलाई दोस्रो पटकमा सुरुङबाट बाहिर निकालिएको थियो। यसअघि सुरुमा उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था भने सामान्य तथा स्थिर रहेको छ।

अवस्था सामान्य भएपनि स्वास्थ्यमा कुनै जटिलता नआओस् भनेर थप परीक्षण तथा निगरानीका लागि उनलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै ल्याइँदै छ।

नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिक विज्ञहरूको संयुक्त टोलीले शुक्रबार बिहानै सुरुङभित्र जोखिमपूर्ण अपरेसन चलाएर उनीहरूको उद्धार गरेको हो।

बाढीपछि आयोजनाको सुरुङभित्र कामदारहरू फसेको आशंका भएलगत्तै सुरक्षाकर्मीको टोलीले लगातार खोज तथा उद्धार कार्य जारी राखेको थियो। सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसेको हुनसक्ने आशंकामा संयुक्त टोलीले खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

प्रकाशित: Sep 04, 2026| 11:53 शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्