काठमाडौं- देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाद्वारा जारी सूचना अनुसार रसुवा र नुवाकोट जिल्ला भई बहने भोटेकोशी, त्रिशुली नदी तथा आसपासका स–साना नदीहरूको जलसतह उल्लेख्य बढ्ने प्रक्षेपण गरिएको छ। यी क्षेत्रमा तीव्र बहावसहित आकस्मिक बाढी आउन सक्ने उच्च जोखिम रहेकाले तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन सचेत गराइएको छ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) सहित देशका ४० भन्दा बढी जिल्लाहरू भई बहने स–साना नदी तथा खोलाहरूमा मध्यम जोखिमको चेतावनी दिइएको छ।
कोशी प्रदेश अन्तर्गत ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा र सोलुखुम्बु बागमती प्रदेश अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर र चितवनमा जोखिम देखिएको छ।
यस्तै, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत र म्याग्दी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु र हुम्ला र सुदूरपश्चिम प्रदेशका अछाम, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुरमा समेत बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
यी जिल्लाहरू भई बहने स–साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको हो।
नदी तथा खोला किनारका होचा भू–भाग, कटान जोखिमयुक्त क्षेत्र र भिरालो जमिन आसपास बसोबास गर्ने सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ। साथै, नदी तटीय क्षेत्रमा कुनै पनि गतिविधि गर्दा विशेष सावधानी अपनाउन र आपत्कालीन अवस्थाका लागि पूर्वतयारी अवस्थामा रहन स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूले अनुरोध गरेका छन्।