काठमाडौं- अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले भदौ १९ गते बिहान ६ः३० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार पृथ्वी राजमार्ग, पासाङ ल्हामु सडक, सहिद मार्गलगायतका सडक पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गजुरी गाउँपालिका–२ परेवा भीरमा पहिरोका कारण साना सवारीका लागि एक लेन मात्र सञ्चालनमा छ। बेनिघाट रोराङ–१० जवाङखोला र थाक्रे गाउँपालिका–२ कमेरेभीरमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट धादिङतर्फ जाने सडकअन्तर्गत चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त सडक लामो समयसम्म अवरुद्ध रहने जनाइएको छ। बाढीका कारण रसुवाका अन्य मुख्य सडकमा समेत अर्को सूचना जारी नभएसम्म यातायात रोक लगाइएको छ।
नुवाकोटको पासाङ ल्हामु सडकखण्डअन्तर्गत वेत्रावती–सिमटार क्षेत्रमा बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ। टोखा–छहरे सडकखण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा भने समय तोकेर सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइएको छ भने बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मौसम तथा सडकको अवस्थाको विश्लेषण गरी अन्य सवारी सञ्चालनको व्यवस्था गरिएको छ।
यस्तै, मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो खसेपछि मुगु–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। रोल्पाको सहिद मार्गअन्तर्गत परिवर्तन गाउँपालिका–३ भालखोर तथा घोराही–थवाङ सडकखण्डको परिवर्तन–६ दुईखोली बजारमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा ठप्प भएको छ।
अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत पाणिनी गाउँपालिका–२ बालसिद्ध मन्दिर नजिकै पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले अवरुद्ध सडक खुलाउन पहिरो पन्छाउने तथा आवश्यक व्यवस्थापनको काम जारी राखेको जनाएको छ। प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाका प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलमा सम्पर्क गरी सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।