नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित सडकमा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
आज बिहान करिब ३: ३० बजे भे १ ज १६३४ नम्बरको माइक्रोबसको ब्रेक फेल भएपछि सडकमा रोकिराखेको बा प्र ०१–००६ ख ३८४१ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किएको थियो। दुर्घटनामा चालकसहित माइक्रोबसमा सवार २० जना घाइते भएका थिए।
घाइते सबैलाई उपचारका लागि बर्दघाट नगर अस्पताल चिसापानी लगिएको थियो। सामान्य उपचारपछि केही घाइतेलाई थप उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ।
घाइतेमध्ये सल्यानका करिब २७ वर्षीय गणेश बुढालाई जिल्ला अस्पताल परासी लगिएको थियो। चिकित्सकले बिहान ४ः२४ बजे जाँच गर्दा उनलाई मृत घोषणा गरेका थिए।
घाइतेमध्ये दाङका ३३ वर्षीय निशान्त विक, दैलेखका २३ वर्षीय निराजन खवास, नवलपरासीकी ३४ वर्षीया मिना आले, मुगुका ३१ वर्षीय जलनाथ योगी, कैलालीका २१ वर्षीय मनोज बोहरा र सल्यानका १९ वर्षीय मनिष विकलाई थप उपचारका लागि देवदह मेडिकल कलेज, भलुही पठाइएको छ।
त्यस्तै, बर्दियाका ३५ वर्षीय दिलीप पाण्डे, मुगुका २९ वर्षीय अंक दमाई र ३२ वर्षीय दिनेश साउदको अवस्था सामान्य रहेको र उनीहरूको चिसापानीस्थित नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।