काठमाडौं। परराष्ट्र मन्त्रालयले भोटेकोशी बाढीका कारण हाल ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जनाएको छ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्दार गरिएको र अझै ३४ देशका करिब ५९० विदेशी नागरिक बेपत्ता सूचीमा रहेको जानकारी दिए।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी (पूर्व र पश्चिम) सम्म ९ हजार तीन सय भन्दा बढी नेपाली सेनाका जनशक्ति उद्धार तथा खोजमा परिचालित रहेको उहाले जानकारी दिए।
उनले भारतीय टनेल उद्धार टोली नेपाली सेनासँग मिलेर आवश्यक उपकरणसहित खटिएको र चिलिमेतर्फ थप एक्स्काभेटर पठाउन लागिएको बताए।
त्यस्तै लाङटाङतर्फ सेना र प्राविधिक टोलीले मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल भएको उनले बताए।
माथिल्लो त्रिशूली ३ ’ए’ मा चिनियाँ टनेल टोली र नेपाली सेनासहित कुल ९३ सदस्यीय संयुक्त टोली थप जनशक्ति र उपकरणसहित फिल्डमा खटिएको समेत मन्त्रालयले जनाएको छ।
प्रवक्ता पौडेलले शवको पहिचानका लागि भारतबाट १९ सदस्यीय र चीनबाट ५ सदस्यीय विशेष फोरेन्सिक टोली कार्यक्षेत्रमा रहेको जानकारी दिए।
विपद्पछि भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपेली युनियन, विश्व बैंक, एडीबी लगायतका दर्जनौँ मित्रराष्ट्र तथा दातृ निकायहरूले ऐक्यबद्धता र सहयोग जनाएको प्रवक्ता पौडेलले बताए।
उनले केरुङबाट १४० जना नेपालीहरू तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेको र चिनियाँ सीमा क्षेत्रतर्फ अझै करिब १०० नेपाली बेपत्ता रहेको जानकारी दिए।