बिहीबार, भदौ १८, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान कुँवरप्रति श्रद्धाञ्जली

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान कुँवरप्रति श्रद्धाञ्जली

 |  बिहीबार, भदौ १८, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०८३

काठमाडौं- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी बल, नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

विपद्को समयमा नागरिकको जिउधनको सुरक्षाका लागि अग्रपंक्तिमा खटिएका कुँवरलाई भदौ १० गते आएको बाढीले बगाएको थियो। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१, बरफेदीस्थित कुँवरको घरमै पुगेर शोकाकुल परिवारसँग भेट गरी समवेदना व्यक्त गरेका छन्।

भेटका क्रममा महानिरीक्षक पौडेलले कठिन विपद्को अवस्थामा समेत विचलित नभई संगठनले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा जवान कुँवरले देखाएको साहस र बलिदानप्रति सशस्त्र प्रहरी संगठन सधैँ ऋणी रहने बताएका छन्।

उनले शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै संगठन सदैव परिवारको साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

यस क्रममा महानिरीक्षक पौडेलले भोटेकोशी बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलको परिवारसँग समेत भेट गरी सहानुभूति व्यक्त गरेका छन्। बाढीमा परी बेपत्ता भएका सहायक हवल्दार पौडेलसहित सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी र सर्वसाधारणको खोज तथा उद्धार कार्यलाई संगठनले उच्च प्राथमिकतामा राखेको पौडेलले बताएका छन्।

जोखिमपूर्ण मौसम र कठिन भौगोलिक अवस्थाका बाबजुद उद्धार टोली निरन्तर परिचालन भइरहेको जानकारी दिँदै उनले आफ्ना राष्ट्रसेवकहरूको खोजीमा संगठन निरन्तर सक्रिय रहने बताएका छन्।

नागरिकको सुरक्षा र सेवामा खटिएका आफ्ना वीर सदस्य गुमाउँदा सशस्त्र प्रहरी परिवार शोकमा डुबेको छ। यद्यपि राष्ट्र र जनताप्रतिको कर्तव्यबाट विचलित नभई संगठन विपद् व्यवस्थापन तथा खोज तथा उद्धार कार्यमा अहोरात्र खटिइरहने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: Sep 03, 2026| 13:12 बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्