काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बुधवार प्रतिनीधिसभाको बैठकलाई सम्बोधन गर्दै मुग्लिङ–नौबिसे खण्डमा पर्ने पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडकखण्ड १५ दिन भित्रै सञ्चालनमा ल्याइने घोषण गरेसँगै सडकखण्डको पहिरो पन्छाउने काम अगाडि बढेको छ।गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले तल्लो भागलाई निरन्तर कटान गर्दै लगेपछि कृष्णभीरमा रहेको करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिए सँगै अवरुद्ध राजमार्ग निर्माणका लागि पहिरो पछाएर रुख कटानको काम अगाडि बढाइएको हो। पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी ज्ञानराज लम्सालका अनुसार प्रधानमन्त्रीले नै १५ दिन भित्रै सडकखण्ड खुलाइ सक्ने भने सँगै त्यहीँ अनुसार दक्षप्राविधिक टोली फिल्डमा खटिइसकेको छ।
सडक निर्माणलाई दरारुपताका साथ अगाडि बढाउने विषयमा सबै सँगै समन्वय गरेर काम अगाडि बढाउने उनले बताए। सूचना अधिकारी लम्सालले पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटान गर्न थालिएको बताए। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ।रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने उनले बताए।
सडक सञ्चालनलाई प्राथमिकतामा राखी काम तीव्र गतिमा अघि बढाइएको उनको भनाइ छ। कृष्णभिरको सडक सडक भासिए सँगै अहिले काठमाडौं उपत्यकामा भित्रिने र उपत्यकाबाट बाहिरिने सवारीसाधनका लागि तत्कालका लागि दुई वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले भदौ १२ गते सूचना जारी गर्दै मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले उपत्यकामा भित्रिँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नु व्यवयस्था मिलाएको छ। प्रशासनले १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै उपत्यकामा भित्रिने रुट व्यवस्थापन गरेको छ। त्यसैगरी १० चक्कासम्मका सवारीसाधन काठमाडौंबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरिएको जनाएको छ।