काठमाडौं- माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि भइरहेको प्रयासबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले पछिल्लो अवस्थाबारे जानकारी दिएका छन्।
उनका अनुसार १६० मिटर लामो केबल डक्ट सुरुङको मुख क्षेत्रको निकासमा रहेका दुई दर्जनभन्दा बढी ठूला ढुंगा विस्फोट गरी हटाइएको छ। भदौ १३ गतेदेखि चारमध्ये नियमित रूपमा दुई वटा डोजर परिचालन गरी पाँच दिनमा करिब २० हजार घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकारसम्मका ठूला ढुंगा पन्छाइएको छ।
उद्धारका क्रममा आवश्यकताअनुसार ढुंगा फुटाउने उपकरण प्रयोग गर्नुका साथै विस्फोटक पदार्थबाट नियन्त्रित रूपमा विस्फोट गराउने काम चौबीसै घण्टा भइरहेको सांसद न्यौपानेले बताएका छन्।
हाल सुरुङको मुखको माथिल्लो भागदेखि करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो भाग सफा गरिएको छ। ५.५ मिटर अग्लो सुरुङमा बाँकी करिब ३ मिटर गहिराइको पहुँचमार्ग तथा पानी निकास निर्माण सम्पन्न भएपछि मात्र सुरुङभित्र जम्मा भएको लेदो हटाउने काम सुरु गरिने जनाइएको छ।
सुरुङभित्र गरिएको प्रारम्भिक अवलोकनमा आँखाले देख्न सकिने करिब एक मिटरभित्रको भाग पूरै लेदोले भरिएको देखिएको छ। अहिले सुरुङबाट करिब दुई लिटर प्रतिसेकेन्डको दरले दबाबबिनै पानी बाहिर निस्किरहेको छ। यसले सुरुङभित्र पानी जमेको अवस्था नरहेको संकेत गरेको सांसद न्यौपानेले बताएका छन्।
सुरुङको बाहिरी भागमा ढोकाको स्ल्याब, काठका दुई ठूला ठुटा तथा ठूला ढुंगाले अवरोध गरेको पाइएको छ। यस अवस्थाका आधारमा सुरुङभित्र पानी र लेदोबाहेक ठूला ढुंगा प्रवेश नगरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
सुरुङभित्रको वास्तविक अवस्था भने अझै यकिन भइसकेको छैन। १६० मिटर लामो सुरुङमध्ये करिब ६० मिटरमा एउटा घुम्ती रहेको तथा विद्युत् गृहसम्म सुरुङ उकालो दिशामा रहेकाले भित्री भाग सुरक्षित र सामान्य अवस्थामा रहेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
घटनास्थलसम्म सडक पहुँच नभई हेलिकप्टरबाट मात्र पुग्न सकिने अवस्था रहेकाले मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री ढुवानीमा केही समय लाग्ने अवस्था रहेको सांसद न्यौपानेले बताएका छन्। यद्यपि उद्धार तथा सफाइको सम्पूर्ण काम निरन्तर सञ्चालन भइरहेको उनले जानकारी दिएका छन्।