काठमाडौं। रसुवामा आएको बाढीपछि विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेनासहितका संयुक्त टोली परिचालन गरिएको छ।
रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेना र आयोजनाका इन्जिनियरसहितको २७५ सदस्यीय टोलीले सुरुङभित्र २७५ मिटरसम्म पुगेर खोजी गरिरहेको छ। उद्धार कार्य तीव्र बनाउन भारी उपकरण तथा खन्ने मेसिन सुरुङ क्षेत्रमा पुर्याउने तयारी भइरहेको छ।
लाङटाङ जलविद्युत् आयोजनामा विदेशीसमेत २५ जनाको संयुक्त टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म पुगेर खोजी गरिरहेको छ। चिलिमे जलविद्युत् आयोजनामा संयुक्त टोली १५० मिटरसम्म पुगेकोमा सुरुङ बन्द अवस्थामा फेला परेको छ। त्यहाँ ध्वनि पत्ता लगाउने उपकरणमार्फत निगरानी भइरहेको छ।
अपर त्रिशूली–१ आयोजनामा सुरुङको प्रवेशद्वार ढुंगाले छेकिएको अवस्थामा रहेकाले भित्र प्रवेश गर्ने प्रयास भइरहेको छ। हाकुबेँसीमा विदेशीसमेतको संयुक्त टोलीले सुरुङभित्र २६० मिटरसम्म पुगेर खोजी गरे पनि हालसम्म केही फेला परेको छैन।
त्रिशूली–३ ‘ए’ आयोजनामा नेपाली सेनासहित ९३ जनाको संयुक्त उद्धार टोलीले चारवटा खन्ने मेसिन र एक सानो खन्ने उपकरण प्रयोग गरी माटो हटाउने काम गरिरहेको छ। सुरुङको बाहिरी भागमा लेदो भरिएपछि माटो हटाउने तथा अगाडिको चट्टान विस्फोट गराउने काम भइरहेको छ।
त्रिशूली–३ ‘बी’ आयोजनामा नेपाली सेनाका ६१, गैरसैनिक तीन तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले कार्यालय, आवास तथा शिविर क्षेत्रको पहिचान र खोजी गरिरहेको छ। टोलीले खन्ने मेसिन प्रयोग गरी सम्भावित स्थानमा खोजी कार्य जारी राखेको छ।