काठमाडौं। चीनले रसुवा-ग्यिरोङ सीमा क्षेत्रमा आएको भीषण बाढीपहिरोपछि नेपाललाई मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानमा सहयोग गर्दै आएको जनाएको छ।
चीनको मौसम प्रशासनका प्रवक्ता वाङ यावेईका अनुसार विपद्पछि चीनले तत्कालै नेपालको मौसम विभागसँग मौसमसम्बन्धी भिडियो छलफल गरेको थियो। त्यसयता नेपाललाई मौसम निगरानी, पूर्वानुमान, पूर्वसूचना तथा विपद्को प्रभावसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ।
उनका अनुसार उद्धार तथा राहत कार्यमा मौसमसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउन चीनले निरन्तर सहयोग गरिरहेको छ। आपत्कालीन उद्धार र विपद् व्यवस्थापनमा सहयोग पुर्याउन नेपालसँग मौसमसम्बन्धी सहकार्य थप सुदृढ गरिने पनि चीनले जनाएको छ।
चीनको मौसम प्रशासनले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई आवश्यक पर्ने समग्र मौसमसम्बन्धी सेवा उपलब्ध गराउन सक्दो प्रयास गर्ने जनाएको छ।