काठमाडौं। सरकारले काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ।
विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेका हुन्। नवनियुक्त रजिस्ट्रार थापाले बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्।
थापा विगत २२ वर्षदेखि काठमाडौं विश्वविद्यालयमा सहप्राध्यापकका रूपमा कार्यरत थिए। उनले नर्वेबाट जलविद्युत् विषयमा विद्यावारिधि गरेका छन्।
शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिए। उनले काठमाडौं विश्वविद्यालयलाई विशिष्टीकृत ढाँचाको न्यासी प्रणालीमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए।