काठमाडौं- राजधानी प्रवेश गर्ने नागढुंगा–नौबिसे सडक खण्डअन्तर्गत पातले वन क्षेत्रमा सडक भासिएपछि यातायात प्रभावित भएको छ।
सडक भासिएपछि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। हाल पेट्रोलियम पदार्थ बोकेका ट्यांकरलाई मात्र उक्त मार्गबाट चल्न दिइएको र अन्य सवारीसाधनलाई सुरुङमार्गबाट पठाउने तयारी भइरहेको सडक विभागले जनाएको छ।
सडक विभागका अनुसार पुरानो पर्खाल भत्किएका कारण सडक भासिएको हुन सक्ने प्रारम्भिक अनुमान छ। घटनास्थलमा प्राविधिक टोली पुगेर अध्ययन गरिरहेको र अध्ययनपछि क्षतिको कारण तथा मर्मत योजना तय गरिने जनाइएको छ।
सडकको अवस्था सामान्य नहुँदासम्म यात्रुलाई सुरुङमार्ग प्रयोग गर्न र सावधानी अपनाउन विभागले आग्रह गरेको छ। नागढुंगा–नौबिसे सडकमा हुने अवरोधले राजधानीबाट पश्चिम तथा तराईतर्फ जाने हजारौँ यात्रु र सवारीसाधन प्रभावित हुने गरेका छन्।