काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज (बुधबार) बिहान ६:३० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र बैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ।
बिपी राजमार्गको खुर्कोट—नेपालथोक—कटुन्जेबेँसी खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। साँझ ६ देखि बिहान ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। भने दिउँसोको समयमा परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ।
रसुवाको उत्तरगया गाउँपालिका—५ खाल्टेमा बाढीका कारण त्रिशुली—मैलुङ्ग—स्याफ्रुबेसी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ।
शिवपुरी गाउपालिका ८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो।