सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • भोटेकोशी बाढीपछि ३१५ विदेशी पर्यटकको उद्धार, ५८३ अझै सम्पर्कविहीन

भोटेकोशी बाढीपछि ३१५ विदेशी पर्यटकको उद्धार, ५८३ अझै सम्पर्कविहीन

 |  सोमबार, भदौ १५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०८३

काठमाडौं। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछि हालसम्म ३१५ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। सोमबार साँझसम्मको विवरणअनुसार ५ जना विदेशी नागरिक सम्पर्कमा आएका छन् भने ५८३ जना अझै सम्पर्कविहीन छन्।

उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। जसअनुसार भारतका १८७ जना, चीनका १०८ जना, जर्मनी र माल्टाका ४-४ जना, इटाली, रुस, टर्की, अमेरिकाका २-२ जना तथा बुल्गेरिया, ओमान, पोर्चुगल र स्वीजरल्याण्डका एक एक जनाको उद्धार गरिएको बोर्डले जनाएको छ। त्यस्तै सम्पर्कमा आएका ५ जनामध्ये स्पेनका ३, अमेरिकाका १ र बेल्जियमका १ जना रहेका छन्।

भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि विदेशी नागरिक तथा पर्यटकको खोजी, उद्धार र सहयोगका लागि नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय तथा स्थानीय प्रशासनले समन्वयमा काम गरिरहेका छन्।

यसैबीच, धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरी सडकको केही भाग बगाएपछि काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध रहेको बोर्डले जनाएको छ।

पर्यटन बोर्डले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखाबाहेक देशका अन्य क्षेत्रमा पर्यटकीय गतिविधि तथा सडक सञ्जाल सञ्चालनमा रहेको जनाएको छ। प्रभावित क्षेत्रमा यात्रा गर्नुअघि सडक तथा मौसमको पछिल्लो अवस्था बुझ्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न पर्यटकलाई आग्रह गरिएको छ।

आपत्कालीन सहयोगका लागि नेपाल पर्यटन बोर्डको निःशुल्क नम्बर १२३४, सरकारी आपत्कालीन नम्बर ११४४ र पर्यटक प्रहरीको ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने बोर्डले जनाएको छ।


 

प्रकाशित: Aug 31, 2026| 19:15 सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्