काठमाडौं- चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिनामै वाणिज्य बैंकहरूको कर्जा प्रवाह घटेको छ। चालू आवको साउन मसान्तसम्म २० वाणिज्य बैंकको कुल कर्जा प्रवाह असार मसान्तको तुलनामा एक अर्ब ७१ करोड रुपैयाँले घटेको हो। साउन मसान्तसम्म २० वाणिज्य बैंकले कुल ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। असार मसान्तसम्म यस्तो कर्जा प्रवाह ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ थियो।
एक महिनाको अवधिमा बैंकहरूको कुल कर्जा प्रवाह ०।०३ प्रतिशतले घटेको देखिन्छ।साउनमा २० वाणिज्य बैंकमध्ये १० बैंकको कर्जा प्रवाह बढेको छ भने १० बैंकको घटेको छ। कर्जा प्रवाह बढाउने बैंकमध्ये नबिल बैंक सबैभन्दा अगाडि छ। साउनमा नबिल बैंकको कर्जा प्रवाह तीन अर्ब १६ करोड रुपैयाँले बढेको छ। असार मसान्तसम्म चार खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा चार खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह बढाउने बैंकमध्ये ग्लोबल आईएमई बैंक दोस्रोमा छ।
बैंकको कर्जा एक महिनामा तीन अर्ब ८२ करोड रुपैयाँले बढेर चार खर्ब ८० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा बैंकको कर्जा चार खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ थियो।एनआईएमबीको कर्जा प्रवाह पनि दुई अर्ब ३९ करोड रुपैयाँले बढेको छ। असार मसान्तको तीन खर्ब ६० अर्ब ३२ करोड रुपैयाँबाट बढेर साउन मसान्तमा तीन खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। लक्ष्मी सनराइज बैंकले साउनमा सबैभन्दा धेरै कर्जा थपेको छ। एक महिनामा बैंकको कर्जा प्रवाह छ अर्ब १० करोड रुपैयाँले बढेर तीन खर्ब २६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ।
असार मसान्तमा बैंकको कर्जा ३ खर्ब २० अर्ब ४६ करोड रुपैयाँ थियो। प्रतिशतका आधारमा बैंकको कर्जा प्रवाह १.९० प्रतिशतले बढेको हो ।एभरेस्ट बैंकको कर्जा पाँच अर्ब २३ करोड रुपैयाँले बढेको छ। बैंकको कर्जा प्रवाह दुई खर्ब ४७ अर्ब ६५ करोड रुपैयाँबाट बढेर दुई खर्ब ५२ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह पनि ५१ करोड रुपैयाँले बढेको छ। असार मसान्तमा ७० अर्ब ८२ करोड रुपैयाँ रहेको बैंकको कर्जा साउन मसान्तमा ७१ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो। बैंकको कर्जा प्रवाह ०.७२ प्रतिशतले बढेको छ।
एनआईसी एसिया बैंकको कर्जा प्रवाहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। बैंकको कर्जा एक महिनामा छ अर्ब २८ करोड रुपैयाँले घटेर दुई खर्ब चार अर्ब ८५ करोड रुपैयाँमा आएको छ। असार मसान्तमा बैंकको कर्जा दुई खर्ब ११ अर्ब १३ करोड रुपैयाँ थियो। बैंकको कर्जा प्रवाह २.९७ प्रतिशतले घटेको हो।