काठमाडौं- गत आर्थिक वर्ष २०८२-८३ (साउनदेखि असार) मा कुल २३ खर्ब ६३ अर्ब रेमिटेन्स भित्रिएको छ।
आर्थिक वर्ष २०८१-८२ मा १७ खर्ब २३ अर्ब रेमिटेन्स भित्रिएको थियो। ३७ प्रतिशतले रेमिटेन्स बढी भित्रिएको हो।
मासिक करिब एक खर्ब ९७ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो। साढे दुई वर्षदेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
यो अवधिमा ११ अर्ब ९८ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। गत वर्षको यही अवधिमा ११ अर्ब १७ करोड रूपैयाँ बाहिरिएको थियो।
एक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या पनि ५.५९ प्रतिशतले घटेको छ।
यसअघि ८ लाख ३९ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ७ लाख ९२ हजारले यस्तो स्वीकृति लिएका छन्।
इरान र इसराइलमा जारी द्वन्द्वको कारण केही समयअघि वैदेशिक रोजगारी प्रभावित भएकोले जानेको संख्या घटेको हो।
चैतको करिब दोस्रो साता केही दिन नेपालबाट मध्य पूर्वमा हुने हवाइ उडान नै रोकिएको थियो। रेमिटेन्स बढेसँगै मुलुकको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेकै छ।
