काठमाडौं- भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल गहिरो दुःख व्यक्त गर्दछ।प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ। साथै, बाढीमा परी घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।
यस राष्ट्रिय विपद्को घडीमा नाडा सदैब राज्यको साथमा उभिने छ। उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन राज्यसँगै काँधमा काँध मिलाएर उभिनु सम्पूर्ण नागरिकको कर्तव्य हो भन्नेमा हामी दृढतापूर्वक विश्वास गर्छौं। नाडा सधैं सरकारको पक्षमा, सरकारसँगै उभिने संस्था रहिआएको छ, र यस विपद्मा पनि त्यही प्रतिबद्धता दोहोर्याउँदछ। त्यसैले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकबद्ध भई सहकार्य गर्दै उद्धार र राहतमा सहयोग पुर्याउन हार्दिक आह्वान गर्दछौं।
विपद्पछिको यस अत्यन्त चुनौतीपूर्ण घडीमा सुरक्षा निकाय, स्थानीय प्रशासन र सरकारी संयन्त्रले देखाएको तत्परता र अथक परिश्रमप्रति नाडा हार्दिक कृतज्ञता व्यक्त गर्दछ। विशेष गरी,सम्मानिय प्रधानमन्त्री बालेन्द्र शाह ज्यु,माननिय गृहमन्त्री सुदन गुरुङज्यूले प्रभावित जिल्लाहरूका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गर्नुभएको, उद्धार तथा राहत उडानहरूको समन्वय व्यक्तिगत रूपमा गरिरहनुभएको, र विपद् व्यवस्थापन सरकार, निजी क्षेत्र र नागरिक समाजको साझा जिम्मेवारी भएको भन्दै निजी क्षेत्रलाई समेत यस कार्यमा साथ दिन गर्नुभएको आह्वानप्रति नाडा उच्च कदर गर्दछ। गृहमन्त्रीज्यूको यही आह्वानअनुरूप नाडा आफ्नो तर्फबाट सहयोग गर्न सधैं तत्पर रहनेछ। नाडा देशको आर्थिक संरचनालाई सशक्त बनाउन र त्यसको निरन्तरतामा विश्वास राख्दछ, र यो विश्वासअनुरूप मुलुक र यहाँका नागरिकको सेवामा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछ।
नाडाले तत्काल राहत तथा पुनरुत्थानका कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. १० लाख (दश लाख रुपैयाँ) आर्थिक सहयोग पठाउने निर्णय लिएको यहाँहरूमा जानकारी गराउँदछौं।
विपद्को यस कठिन घडीमा सरकार, निजी क्षेत्र, व्यवसायी तथा आम नागरिक सबैको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सकिने दृढ विश्वास नाडाको छ। यसमा जुट्न सबैमा हार्दिक अपिल गर्दछौं। साथै, यो महाविपद् नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सञ्चालनमा रहेकै बेला आइपरेको हो।
आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने जानकारी गराउँदछौं।आउनुहोस्, यो विपद्को सामना गर्न सबैले आ-आफ्नो क्षेत्रबाट हातेमालो गरौं। आर्थिक गतिविधिलाई सँगसँगै चलायमान बनाउन नाडा सबैमा अपिल गर्दछ।
