काठमाडौं। विराटनगर भन्सार कार्यालयले दुई दिनमा २२ करोड राजस्व गुमाएको छ। भारतको जोगबनीस्थित ल्यान्ड पोर्टमा कार्यरत भन्सार एजेन्टले गरेको ‘पेन डाउन’को प्रत्यक्ष असर पर्दा उक्त राजस्व गुमाएको हो।
आन्दोलनका कारण मालवाहक सवारीको जाँच पास रोकिएपछि भन्सारले राजस्व संकलन गर्ने सकेको छैनन्। विराटनगर भन्सारमा दैनिक औसत ११ करोड रुपैयाँ राजस्व संकलन हुँदै आएको छ। तर, भारततर्फको जाँच पास प्रक्रिया अवरुद्ध हुँदा सोमबार र मंगलबार मालसामान बोकेका सवारी नेपाल प्रवेश गर्न सकेनन्।
त्यसको प्रत्यक्ष असर भन्सार राजस्वमा परेको भन्सारले जनाएको छ। जोगबनीस्थित भारतीय ल्यान्ड पोर्टमा एक हजारभन्दा बढी मालवाहक सवारी रोकिएका छन्।
भारतीय भन्सार एजेन्टहरूले भन्सारको कम्प्युटर प्रणाली प्रभावकारी बनाउनुपर्ने तथा जाँच पास भइसकेका सवारीलाई समेत सीमा सुरक्षा बल (एसएसबी)ले पुनः जाँचका नाममा सास्ती दिने गरेको भन्दै पेन डाउन गरेका हुन्। सरकारी अधीनको ल्यान्ड पोर्ट अथोरिटी अफ इन्डिया (एलपीएआई)ले जोगबनी ल्यान्ड पोर्ट सञ्चालन गर्दै आएको छ।
नेपाली भन्सार एजेन्टहरूका अनुसार भारतीय भन्सारमा जाँच पासको प्रक्रिया ढिलो हुँदा नेपालतर्फ आउने मालवाहक सवारीले अनावश्यक पार्किङ शुल्कसमेत तिर्नुपरेको छ।
जाँच पास भइसकेपछि पनि एसएसको पुनः जाँचले प्रक्रिया लम्ब्याउने गरेको उनीहरूको गुनासो छ। विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकीनन्दन शर्माले भने,‘भारतीय भन्सारमा प्रक्रिया रोकिँदा भारत र तेस्रो मुलुकबाट आयात प्रत्यक्ष प्रभावित भएपछि त्यसको असर राजस्व संकलनमा देखिएको छ।’
भन्सार प्रमुख उमेश श्रेष्ठले दुई दिनदेखि भारतीय भन्सारबाट जाँच पास भएर मालवाहक सवारी नेपालतर्फ नआएको पुष्टि गरे।उनका अनुसार भारतीय भन्सार एजेन्टहरूले सेवा छिटोछरितो बनाउन माग राख्दै पेन डाउन गरेको जानकारी आएको छ।
भारतीय एजेन्टहरूले माग औपचारिक रूपमा विराटनगर भन्सारमा पेस नगरेकाले नेपालतर्फबाट तत्काल वार्ता गर्न सकिने अवस्था नरहेको श्रेष्ठले बताए। यद्यपि, बुधवारदेखि भन्सारको काम नियमित हुने जानकारी प्राप्त भएको उनले बताए।
विराटनगर भन्सारको पछिल्लो घटनाले नेपालतर्फको राजस्व संकलन कति हदसम्म सीमापारको प्रशासनिक प्रक्रियामा निर्भर छ भन्ने देखाएको छ। भारतीय भूभागमा हुने सामान्य प्रशासनिक अवरोधले पनि नेपालमा आयात हुने मालवस्तु रोकिँदा भन्सार राजस्व, उद्योगको कच्चापदार्थ आपूर्ति र व्यापारिक गतिविधिमा तत्काल असर पर्ने गरेको छ। विराटनगर भन्सारले पछिल्ला वर्षमा राजस्व लक्ष्यसमेत लगातार पूरा गर्न सकेको छैन।
आर्थिक वर्ष २०८१/८२ मा ४१ अर्ब ५५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकामा वैशाखसम्म करिब २७ अर्ब ४० करोड रुपैयाँ मात्र संकलन भएको थियो। यस्तो अवस्थामा दुई दिनमै २२ करोड रुपैयाँ राजस्व संकलन रोकिनु सामान्य प्रशासनिक अवरोध मात्रै नभएको उद्यमीहरूको भनाइ छ।
भारततर्फको जाँच पास प्रणालीमा देखिने समस्या समाधान नभए त्यसको भार नेपाली आयातकर्ता, उद्योगी र अन्ततः सरकारी राजस्वमाथि पर्ने व्यवसायीहरूको भनाइ छ। विराटनगर नाकाबाट हुने आयातमा निर्बाध आवागमन सुनिश्चित गर्न नेपाल र भारतका सम्बन्धित निकायबिच नियमित समन्वय आवश्यक रहेको नेपाली भन्सार एजेन्ट नवल उपाध्यायले जनाए।