काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि सरकारले स्थिर कर नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
मंगलबार नाडा अटो शो-२०२६ को उद्घाटन कार्यक्रममा अध्यक्ष उप्रेतीले यस्तो बताएका हुन्।
उनले सरकारलाई कर नीतिमा स्थिरता कायम गर्न पटक-पटक सुझाव दिँदै आएको र अब त्यसको व्यवहारिक कार्यान्वयन आवश्यक रहेको बताए।
अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल राजस्व सङ्कलनको माध्यमको रूपमा मात्र नहेरी यसलाई आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण साझेदारको रूपमा लिन सरकारसँग आग्रह गरे।
"सरकारले आगामी दिनमा कर नीतिमा स्थिरता कायम गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको छ," उनले भने, "यसलाई व्यवहारमा उतार्न सके नेपालको व्यावसायिक वातावरण अझ विश्वसनीय बन्नेछ।"
सवारी साधनलाई अझै पनि विलासिताको वस्तुको रूपमा मात्र हेरिने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने उनको तर्क थियो। आजको समयमा सवारी साधन नागरिकको आवागमन, व्यवसाय र रोजगारीसँग जोडिएको एउटा अनिवार्य आवश्यकता बनिसकेको उल्लेख गर्दै उनले कर नीतिलाई उपभोक्तामैत्री र व्यावहारिक बनाउनुपर्ने बताए।
अटोमोबाइल क्षेत्रको योगदानबारे चर्चा गर्दै अध्यक्ष उप्रेतीले यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बिमा र रोजगारीसँग प्रत्यक्ष जोडिएको जानकारी दिए।
उनका अनुसार यस क्षेत्रमा ठुलो लगानी रहेको छ भने १० लाखभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन्। साथै, राज्यको कुल राजस्वमा यस क्षेत्रले वार्षिक ९० अर्ब रुपैयाँभन्दा बढी योगदान पुर्याउँदै आएको छ।
विद्युतीय सवारी साधनको बढ्दो प्रयोगले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको बताउँदै उनले अब नेपालमै एसेम्बलिङ र कम्पोनेन्ट उद्योगहरूको स्थापनामा जोड दिनुपर्ने उल्लेख गरे। "स्वदेशमा एसेम्बलिङ भएका सवारी साधनको स्थायित्वका लागि कम्पोनेन्ट उद्योगको विकास जरुरी छ, यसका लागि सरकारले विशेष सहुलियत दिनुपर्छ," उनले भने।
