मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • यातायात तथा अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो : उपराष्ट्रपति यादव

यातायात तथा अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो : उपराष्ट्रपति यादव

 |  मंगलबार, भदौ ९, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०८३

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले यातायात तथा अटोमोबाइल क्षेत्र कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) द्वारा आयोजित १८औँ संस्करणको ‘नाडा अटो शो’ को उद्घाटन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्।

उपराष्ट्रपति यादवले नाडा अटो शो केवल एउटा व्यापारिक मेला वा प्रदर्शनी मात्र नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एक सशक्त मार्गचित्र समेत भएको उल्लेख  गरे। 

''आजको आधुनिक युगमा अटोमोबाइल क्षेत्रले अर्थतन्त्रमा खेल्ने भूमिका अतुलनीय छ," उनले भने, "नेपाली अटोमोबाइल क्षेत्रमा नवप्रवर्तन र सहकार्यका नयाँ आयाम थप्दै आएको नाडाको प्रयास प्रशंसनीय छ।"

सम्बोधनका क्रममा उपराष्ट्रपतिले नेपाल अब सवारी साधनको आयातमा मात्र भर नपरी स्वदेशमै उत्पादन गरेर आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए। "अब नेपालमै सवारी साधन उत्पादन गरेर आत्मनिर्भरको बाटोमा अग्रसर हुन आवश्यक छ। यसले स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्राको सञ्चितिमा पनि मद्दत पुर्‍याउनेछ," उनले भने।

उपराष्ट्रपति यादवले १८औँ संस्करणको यो प्रदर्शनीले विद्युतीय सवारी साधन, नवीनतम प्रविधि, अटो पार्ट्स र ग्यारेज उपकरणहरूलाई एउटै छातामुनि प्रस्तुत गरेर उपभोक्ताको सहज पहुँचमा पुर्‍याउन सफल हुने विश्वास व्यक्त गरे। 

उनले हरित ऊर्जामा आधारित सवारी साधनको प्रवर्द्धन गरी मुलुकलाई वातावरणमैत्री र प्रविधिमैत्री बनाउनु आजको मुख्य आवश्यकता रहेको औंल्याए।

नेपाली अटोमोबाइल बजारलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै विश्वस्तरीय प्रविधि र सुरक्षा मापदण्डलाई नेपालमा भित्र्याउनु नाडाको लक्ष्य हुनुपर्ने उनको भनाइ थियो। "उपभोक्ता, उद्योगपति, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद, समन्वय र सहकार्यको वातावरण निर्माण हुनुपर्छ," उनले भने।

यसैगरी, उनले नयाँ सोचका साथ आउने अटो-टेक स्टार्टअपहरू र आधुनिक ग्यारेज सेवा केन्द्रहरूलाई प्रोत्साहन गर्दै मुलुकभित्रै उद्यमशीलताको नयाँ लहर सिर्जना गर्नुपर्ने बताए।

प्रकाशित: Aug 25, 2026| 11:25 मंगलबार, भदौ ९, २०८३
प्रतिक्रिया दिनुहोस्