सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नागढुंगा सुरुङमार्गमा निजी सवारीलाई पनि आवागमन खुला

नागढुंगा सुरुङमार्गमा निजी सवारीलाई पनि आवागमन खुला

 |  सोमबार, भदौ ८, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०८३

काठमाडौं। नागढुंगा सुरुङमार्गमा सोमबारदेखि निजी कार, जिप र भ्यानलाई पनि आवागमन खुला गरिएको छ। यसअघि सुरुङमा आपत्कालीन, एम्बुलेन्स र सरकारी सवारीलाई मात्र सञ्चालनको अनुमति दिइएकोमा आजदेखि ९ सिटसम्मका  निजी कार, जिप र भ्यानलाई पनि आवागमन खुला गरिएको हो।

सुरुङ बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ भने सुरुङभित्र सवारीको गति प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गर्न, सवारी रोक्न र ओभरटेक गर्न नपाइने व्यवस्था गरिएको छ। सवारी चलाउँदा हेडलाइट बाल्न अनिवार्य गरिएको छ।

सुरुङको नियमित सञ्चालनका लागि सुरक्षा टोली, शुल्क संकलन तथा अन्य आवश्यक व्यवस्थापन गरिएको छ। सुरुङभित्र हुने गतिविधिको निगरानी दृश्य निगरानी प्रणालीमार्फत गरिनेछ। पैदलयात्री, दुईपाङ्ग्रे सवारी तथा पेट्रोल, डिजेललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई सुरुङ प्रवेश निषेध गरिएको छ। 

सुरुङ प्रयोग गरेबापत कार तथा भ्यानले काठमाडौंतर्फ जाँदा ६५ र काठमाडौंबाट बाहिरिँदा ६० रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै मिनीबस र टिपरले काठमाडौंतर्फ जाँदा ११५ तथा बाहिरिँदा ८० रुपैयाँ, बस र ट्रकले क्रमशः २६० र २०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। हेभी ट्रकका लागि काठमाडौंतर्फ ६०० र बाहिरिँदा २५० रुपैयाँ शुल्क तोकिएको छ।

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुंगा सुरुङमार्ग नेपालको पहिलो व्यवस्थित यातायात सुरुङमार्ग हो। यसको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटरको आपत्कालीन सुरुङसमेत निर्माण गरिएको छ।

२०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। सुरुमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९, मुआब्जा विवादलगायत कारणले आयोजना सम्पन्न हुन ढिलाइ भएको थियो। सुरुङमार्गको साउन ११ मा नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकास मन्त्री सुनील लम्सालले उद्घाटन गरेका थिए।

जापान सरकारको ऋण सहयोग र नेपाल सरकारको लगानीमा निर्माण भएको यो सुरुङमार्ग जापानको हाज्मा आन्दो कर्पोरेसनले निर्माण गरेको हो।

प्रकाशित: Aug 24, 2026| 13:57 सोमबार, भदौ ८, २०८३
प्रतिक्रिया दिनुहोस्