काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय समितिका सदस्यहरूका लागि 'नीति, संगठन र नेतृत्व' (रास्वपा कार्यशाला), श्रृंखला-१ आज सकिदैछ।
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा शनिबारदेखि सुरु भएको दुई दिने कार्यशाला आज सकिन लागेको हो।
कार्यशालालाई अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले सहजीकरण गरिरहेको रास्वपाले जानकारी दिएको छ। दोस्रो दिन आज पार्टीको सांगठानिक संरचना, मिडिया र सोसल मिडियाको प्रयोग, राजनीतिज्ञको रुपमा एआईको प्रयोग गर्ने तरिका, २१औ शताब्दीमा राजनीतिक पार्टीको निर्माण लगायतका विषयमा प्रस्तुति हुने बताइएको छ।
यसअघि कार्यशालामा पहिलो दिन अर्थमन्त्री समेत रहेका डा. स्वर्णिम वाग्लेले प्रस्तावनाको व्याख्या, सामाजिक लोकतन्त्र र त्यसका आधारहरुका बारेमा बोलेका थिए भने महामन्त्री विपिन आचार्यले पार्टीको आधारभूत मुल्य मान्यता, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनौटको रुपरेखा बारे प्रस्तुति दिएका थिए।
त्यस्तै कार्यशालामा बजेट निर्माणका विज्ञानिक प्रक्रिया र पार्टी र सरकारको अन्तर सम्बन्ध, समस्या र समाधानका उपाय बारे समेत प्रस्तुति भएको बताइएको छ।
आज कार्यशालाको समापनका क्रममा सभापति रवि लामिछानेले मन्तव्य दिने कार्यतालिका रहेको जानकारी दिइएको छ।