शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • १४२ व्यवसायीविरुद्ध गुणस्तरहीन खाद्य पदार्थ बिक्री सम्बन्धी मुद्दा

१४२ व्यवसायीविरुद्ध गुणस्तरहीन खाद्य पदार्थ बिक्री सम्बन्धी मुद्दा

 |  शनिबार, भदौ ६, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०८३

काठमाडौं। गत आर्थिक वर्ष २०८२/०८३ मा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डविपरीत खाद्य तथा दाना उत्पादन तथा बिक्री–वितरण गर्ने १४२ उद्योग एवम् व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गत आवमा गरेको बजार अनुगमनका क्रममा न्यूनस्तर तथा दूषित खाद्य तथा दाना पदार्थ उत्पादन तथा बिक्री–वितरण गरेको कसुरमा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा १४२ वटा मुद्दा दायर गरेको हो।

विभागका अनुसार उक्त आर्थिक वर्षमा विभाग र मातहतका कार्यालयले बजार तथा उद्योगबाट तीन हजार ३६५ नमुना संकलन गरेका थिए। तीमध्ये दुई हजार ९४८ नमुनाको विस्तृत विश्लेषण परीक्षण गरिएको थियो। परीक्षण गरिएका नमुनामध्ये १२७ वटा अर्थात् ४.३० प्रतिशत मापदण्डविपरीत तथा प्रतिकूल पाइएको विभागले जनाएको छ।

मापदण्डविपरीत पाइएका नमुनामा सबैभन्दा धेरै खाद्यान्न तथा दलहनका ४७ वटा छन्। त्यस्तै, प्रशोधित पिउने पानीका २१, दूध तथा दुग्ध पदार्थका १७, फलफूल तथा सागपातजन्य पदार्थका १०, दानाका १०, तेल तथा घ्यूजन्य पदार्थका ९, मसलाका ७, कन्फेक्सनरीका ३, गुलियो पदार्थका २ तथा चिया तथा कफीको १ नमुना गुणस्तरहीन पाइएको विभागले जनाएको छ।

यस अवधिमा विभागले खाद्य स्वच्छता सर्भिलेन्सअन्तर्गत ४ हजार ३९१ नमुना संकलन गरेको थियो। खाद्य तथा दाना उद्योग, होटल तथा रेस्टुरेन्ट र राजमार्गका होटलविरुद्ध प्राप्त उजुरी तथा गुनासो सम्बोधन गर्ने क्रममा विभाग र मातहतका कार्यालयले एकल तथा विभिन्न निकायसँगको संयुक्त अनुगमन गरी १२ हजार ८०६ पटक निरीक्षण तथा अनुगमन गरेका थिए।

विभागका अनुसार गत आवमा ७३२ उद्योगको अनुमतिपत्र जारी, एक हजार ७३१ उद्योगको अनुमतिपत्र नवीकरण तथा एक हजार ७३४ खाद्य उद्योग स्थापनाका लागि सिफारिस गरिएको थियो। यसरी जम्मा ४ हजार २४७ उद्योगको अनुमतिपत्र जारी, नवीकरण तथा उद्योग दर्ताका लागि सिफारिस गरिएको विभागले जनाएको छ।

विभागले मोबाइल खाद्य प्रयोगशाला भ्यानमार्फत १२३ पटक बजार अनुगमन तथा नमुना परीक्षण गरेको जनाएको छ। विभागका अनुसार विभागीय कार्यालयबाट ७२, विराटनगरबाट ९, धनगढीबाट २५, पोखराबाट ५ र भैरहवाबाट १२ पटक मोबाइल भ्यानमार्फत अनुगमन गरिएको थियो। 

अनुगमनका क्रममा कैफियत देखिएका नमुना जफत तथा नष्ट गर्नुका साथै तत्काल सुधारका लागि सम्बन्धित व्यवसायीलाई निर्देशन दिइएको विभागले जनाएको छ। गम्भीर कैफियत देखिएका व्यवसायीविरुद्ध भने मुद्दा दायर गरिएको हो।

विभागले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न खाद्य पदार्थ बजारबाट फिर्ता (रिकल) गर्न २९ पटक आदेश जारी गरेको थियो। खाद्य ऐनको दफा ३८ बमोजिम पफ, क्रोसान्ट, धुलो मिक्स मसला, प्रशोधित पिउने पानी, फलफूलको पेय पदार्थ, मिक्स्ड फलफूल बेभरेज, पिरो कागती क्यान्डी, मिक्स दालमोठ, चिया, चाउचाउ, बिस्कुट, आइसक्रिम, मह, तोरीको तेल, प्रशोधित फ्लेभर्ड दूध र करी पाउडरलगायत खाद्य पदार्थ बजारबाट फिर्ता गर्न आदेश जारी गरिएको विभागले जनाएको छ।
 

प्रकाशित: Aug 22, 2026| 10:50 शनिबार, भदौ ६, २०८३
प्रतिक्रिया दिनुहोस्