काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाग्मती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई अनुशासनको कारबाही गरेको छ।
विहिबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यताबाट समेत हटाउने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिएका हुन्। बाग्मती प्रदेश सरकार गठनका क्रममा नेकपा एमालेलाई समर्थन गरेको आरोपमा थापामाथि कारबाही गरिएको उनले बताएका छन्।
अध्यक्ष लिङदेनले पार्टीले दिएको पटक पटकको निर्देशनलाई नमानिएको भन्दै अर्को निर्णय नभएसम्म राप्रपा कुनै सरकारमा सहभागी नहुने स्पष्ट निर्देशन गरिएकोमा त्यसको उलंघन गरिएको बताएका छन्।
उनले सरकारमा सहभागी भएमा अन्य सांसदहरुलाई पनि कारवाही गर्ने बताए। राप्रपाका तीन सांसद गिरबहादुर तामाङ (ज्ञानुजंग लामा), राजु विष्ट र राजेन्द्र प्रजापति सरकारमा सहभागी हुने तयारी गरेका छन्।