काठमाडौं। सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब एक दशक बितिसक्दा पनि मुगुको मुगुमकार्मारोङ गाउँपालिका अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन। नेपालका ७५३ स्थानीय तहमध्ये सडक पहुँच नपुगेको एकमात्र स्थानीय तहका रूपमा रहेको यो गाउँपालिकामा सडक निर्माणको सुस्त गतिका कारण स्थानीयको गाडी चढ्ने सपना अझै अधुरै छ।
गमगढीदेखि चीन सीमास्थित नाक्चेलाग्नासम्म पुग्ने ९९ किलोमिटर सडकको विस्तृत सर्वेक्षण २०६२÷६३ सालमै सम्पन्न भएको थियो। त्यसबेला करिब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना २०६६ सालबाट निर्माण सुरु भए पनि १८ वर्षमा जम्मा १८ किलोमिटर मात्रै सडक निर्माण भएको छ। सडक हाल मुगुमकार्मारोङ गाउँपालिका–८ को माग्री डाँडासम्म पुगेको छ।
हालसम्म राज्यकोषबाट २० करोड रुपैयाँभन्दा बढी खर्च भइसके पनि यही गतिमा काम अघि बढे सडक पूरा हुन अझै चार दशकभन्दा बढी लाग्ने स्थानीयको आकलन छ। सडक पूर्वाधारलाई आर्थिक तथा सामाजिक विकासको आधार मानिए पनि भौगोलिक विकटता, कठिन भूगोल र सीमित बजेटका कारण स्थानीय अझै घोडा, खच्चर र मान्छेकै पिठ्युँमा सामान ढुवानी गर्न बाध्य छन्। दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामग्रीसम्म पु¥याउन कठिनाइ भइरहेको छ।
सडक निर्माण भइरहे पनि गमगढीदेखि माग्री डाँडासम्म वर्षायाममा धेरै स्थानमा सडक अवरुद्ध हुने गरेको छ। माग्री डाँडामा सडक निर्माणका क्रममा बाटो बन्द हुँदा पालिका केन्द्र पुलुसम्म पुग्न स्थानीयले ज्यान जोखिममा राखेर आवतजावत गर्नुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ। स्थानीय सोनाम लामाका अनुसार सरकार फेरिए पनि मुगुमकार्मारोङका नागरिकको समस्या भने जस्ताको तस्तै रहेको छ।
सङ्घीय सरकारले हाम्रो कुरा सुन्दैन
मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले दुई कार्यकाल बित्न लाग्दा पनि सडक निर्माणलाई तीव्र बनाउन पटक–पटक सङ्घ, प्रदेश र जिल्ला तहमा पहल गरे पनि अपेक्षित बजेट नपाएको बताए।
उनले ‘बोल्नेको पिठो बिक्री हुन्छ, नबोल्नेको चामल बिक्री हुँदैन’ भन्ने उखान उद्धृत गर्दै पालिकाले निरन्तर आवाज उठाए पनि सङ्घीय सरकारले प्राथमिकता नदिँदा आयोजना कछुवा गतिमा अघि बढेको बताए।
नेपाली सेनासँग सहकार्य गरेर चट्टान फुटाइँदै
मुगुका प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीका अनुसार माग्री डाँडामा रहेको कडा चट्टानका कारण सडक निर्माणमा समस्या आएको छ। त्यसलाई ब्लास्टिङ गरेर हटाउन नेपाली सेनासँग सहकार्य भइरहेको र आगामी एक महिनाभित्र उक्त खण्डमा काम अघि बढाउने लक्ष्य रहेको उनले जानकारी दिए।
चीनको सीमा नाक्चेलाग्नासम्म जोडिने रणनीतिक महत्वको यो सडक समयमै सम्पन्न भए मुगुमकार्मारोङका बासिन्दाले पहिलोपटक सडक यातायातको प्रत्यक्ष सुविधा पाउने अपेक्षा गरेका छन्।