सर्लाही। सर्लाही प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। प्रहरीले जिल्लाको कोडैना गाउँपालिका–१ लक्ष्मीपुरस्थित बास घारीबाट करिब ३०० किलो गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार मंगलबार राति करिब १०ः१५ बजे स्थानीय बिजन पटेलको टाली र बाँसले बनेको भुस राख्ने घरमा लागू औषध गाँजा लुकाएर राखिएको सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले उक्त घरमा खानतलासी गर्दा कोठाभित्र १५ बोरा गाँजा फेला पारेको थियो। बरामद गाँजाको तौल करिब ३०० किलो रहेको छ।
प्रवक्ता गौतमका अनुसार गाँजा बरामद भए पनि घरधनी बिजन पटेल भने फरार छन्। उनको खोजी कार्य जारी रहेको र बरामद गाँजा कसको हो तथा कहाँबाट ल्याइएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।