सुर्खेत। कर्णाली प्रदेश सरकारमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट तीन मन्त्रीको नाम टुंगो लगाउन आज बैठक बस्दै छ।
नेकपा र नेकपा एमालेबिचको सत्ता समीकरणअनुसार कर्णालीमा दुवै दलबाट तीन–तीन जना मन्त्री सरकारमा सहभागी हुने सहमति भएको छ। यसअघि बुधबार एमालेका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्।
नेकपाका संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री रहेको कर्णाली सरकारमा अब नेकपाबाट तीन मन्त्री सहभागी हुन बाँकी छन्। नेकपाका नेता कालीबहादुर मल्लका अनुसार आज बस्ने बैठकले मन्त्रीको नाम टुंगो लगाउने छ।
‘आज नै मन्त्रीको नाम टुंगो लाग्छ,’ नेता मल्लले भने।
यसअघि एमालेबाट जुम्लाका टेकराज पछाई आर्थिक मामिला तथा योजना, मुगुका जीतबहादुर मल्ल सामाजिक विकास र हुम्लाका कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकास मन्त्री नियुक्त भएका छन्।
नेकपा र एमालेबिच भएको सत्ता साझेदारीअनुसार मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढेको हो। नेकपाबाट मन्त्रीको नाम टुंगिएसँगै कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।