बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

विकास बैंकहरुको नाफा ६४ प्रतिशतले बढ्यो, गरिमा शीर्ष स्थानमा

 |  बिहीबार, भदौ ४, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०८३

काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा विकास बैंकहरूको खुद नाफा ६४ प्रतिशतले वृद्धि भएको छ। खराब कर्जाको व्यवस्थापनमा सुधार, प्रोभिजनिङ खर्च घट्नु तथा खुद ब्याज, शुल्क र कमिसन आम्दानी बढेपछि विकास बैंकहरूको नाफामा उल्लेखनीय सुधार देखिएको हो।

१६ वटा विकास बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार उनीहरूले आव २०८२÷८३ मा कुल ९ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा यही नाफा ५ अर्ब ६७ करोड रुपैयाँ थियो। नेपालमा रहेका १७ विकास बैंकमध्ये कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएपछि नेपाल राष्ट्र बैंकको व्यवस्थापनमा रहेकाले उसको विवरण यसमा समावेश छैन।

गत वर्ष सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले कमाएको छ। बैंकले १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको हो। त्यसपछि मुक्तिनाथ विकास बैंक १ अर्ब ५१ करोड रुपैयाँ, साइन रेसुङ्गा विकास बैंक र ज्योति विकास बैंकले पनि १ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका छन्।

राष्ट्रियस्तरका आठ विकास बैंकले मात्रै ८ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यद्यपि, सबै विकास बैंकको अवस्था समान छैन। नारायणी विकास बैंक गत वर्ष ५ करोड ३७ लाख रुपैयाँ घाटामा गएको एकमात्र विकास बैंक बनेको छ।

वितरणयोग्य नाफा ५ अर्ब ६७ करोडमा सीमित

खुद नाफा ९ अर्ब ३३ करोड रुपैयाँ पुगे पनि बैंकहरूको वितरणयोग्य नाफा भने ५ अर्ब ६७ करोड रुपैयाँ मात्रै रहेको छ। उठाउन बाँकी ब्याजमा भएको वृद्धि, कर्जा जोखिम तथा गैरबैंकिङ सम्पत्तिसम्बन्धी जोखिमका लागि नियामकीय व्यवस्था अनुसार थप रकम छुट्याउनुपरेकाले वितरणयोग्य नाफा घटेको हो।

वितरणयोग्य नाफाका आधारमा पनि गरिमा विकास बैंक पहिलो स्थानमा छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। यस्तै, मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाए पनि वितरणयोग्य नाफा ६७ करोड रुपैयाँ मात्रै रहेको छ। गत वर्ष कर्पोरेट, सालपा, सिन्धु र नारायणी विकास बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको वित्तीय विवरणले देखाएको छ।

आर्थिक सुस्तता र असुली समस्याको प्रभाव

विकास बैंकहरूले आर्थिक गतिविधिमा आएको सुस्तता, ऋण नतिर्ने अभियानका कारण कमजोर बनेको कर्जा असुली तथा जेनजी आन्दोलनले वित्तीय अवस्थामा दबाब परेको उल्लेख गरेका छन्। साथै राजनीतिक अस्थिरता र वित्तीय बजारमा बढ्दो प्रतिस्पर्धाले पनि बैंकहरूको सञ्चालनमा चुनौती थपिएको व्यवस्थापकीय विश्लेषणमा जनाइएको छ।

प्रकाशित: Aug 20, 2026| 09:19 बिहीबार, भदौ ४, २०८३
प्रतिक्रिया दिनुहोस्