बुधबार, भदौ ३, २०८३

राष्ट्र बैंकले ३५ अर्बको निक्षेप संकलन गर्दै

 |  बुधबार, भदौ ३, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०८३

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। 

केन्द्रीय बैंकले बुधबवार सूचना जारी गर्दै १८० दिन अर्थात् छ महिनाका लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको जनाएको हो। बोलकबोल आज अपराह्न ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुने बैंकले जनाएको छ। 

निक्षेप संकलन उपकरणको निष्कासन मिति पनि आजै तोकिएको छ। उक्त निक्षेपको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। साँवा तथा ब्याज भुक्तानी आगामी फागुन ३ गते हुनेछ।

बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि १० करोड रुपैंयाँले भाग जाने गरी अधिकतम आह्वान रकमसम्मको रकम बोल गर्न सकिने व्यवस्था गरिएको छ। निक्षेप संकलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन्। 

बोलकबोलमा आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। राष्ट्र बैंकका अनुसार आह्वान गरिएको रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राखी क्रमशः आह्वान गरिएको रकमसम्म बाँडफाँट गरिनेछ। 

समान ब्याजदर उल्लेख भएका बोलको रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ। आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक रकमको बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकको खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ। 

स्वीकृत बोलबमोजिमको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खाताबाट खर्च गरी निक्षेपको छुट्टै खातामा जम्मा गरिनेछ। बोल स्वीकृत भएको बैंक तथा वित्तीय संस्थाको खातामा उक्त उपकरण निष्कासन हुने दिन पर्याप्त मौज्दात नभएमा त्यस्तो संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन बन्देज लगाइने छ। 

निक्षेप संकलनको भुक्तानी मितिमा तोकिएको ब्याजसहितको निक्षेप रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ। राष्ट्र बैंकले निक्षेप संकलन गरिएको रकमलाई सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोका रूपमा गणना गर्न सकिने तर अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न नपाइने जनाएको छ। 

राष्ट्र बैंकको निर्देशनबमोजिम कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातमा भने गणना गर्न सकिनेछ।

प्रकाशित: Aug 19, 2026| 14:16 बुधबार, भदौ ३, २०८३
प्रतिक्रिया दिनुहोस्