काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रसँग 'न्यानो नानी' (बेबी वार्मर) वितरण गर्ने सम्झौता गरेको छ। कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस सम्झौतामार्फत कम्पनीले केन्द्रले स्वदेशमै उत्पादन गरेको उक्त मेसिन दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूमा वितरण गर्नेछ।
सम्झौता अनुसार पहिलो चरणमा सुदूरपश्चिम र कर्णाली प्रदेशका स्वास्थ्य संस्थाहरूलाई १० थान ‘न्यानो नानी’ हस्तान्तरण गरिनेछ। समय नपुगी वा कम तौल लिएर जन्मेका नवजात शिशुहरूलाई आवश्यक तापक्रम दिएर ज्यान जोगाउन न्यानो नानीको प्रयोग हुँदै आएको छ।
वार्षिकोत्सवको अवसरमा कम्पनीले देशभरका शाखामार्फत रक्तदान, वृक्षारोपण, विपन्नलाई खाद्यान्न वितरण र बिमा सचेतना कार्यक्रमसमेत सम्पन्न गरेको छ। प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आगामी दिनमा यो अभियानलाई अन्य प्रदेशमा पनि विस्तार गर्दै लैजाने बताएका छन्।